“​राप्ती सोनारी अस्पतालमा न डाक्टर छन्, न औषधि; बत्ती जाँदा बिरामी र सुत्केरीहरू अन्धकारमा बस्न बाध्य” – Buletnews
“​राप्ती सोनारी अस्पतालमा न डाक्टर छन्, न औषधि; बत्ती जाँदा बिरामी र सुत्केरीहरू अन्धकारमा बस्न बाध्य”

आवश्यक उपकरण र दक्ष जनशक्तिको अभावमा ल्याबका सेवाहरू प्रभावकारी हुन सकेन

  • भुवन थापा

बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको राप्ती सोनारी अस्पतालमा पछिल्लो समय स्वास्थ्य सेवा लथालिङ्ग बनेको छ। अस्पतालमा डाक्टरहरूको अभाव, औषधिको चरम कमी, र कमजोर ल्याब सेवाका कारण उपचारका लागि आउने बिरामीहरू निरास भएर फर्किनु पर्ने अवस्था सिर्जना भएको छ।

स्थानीयका अनुसार अस्पतालमा पर्याप्त डाक्टर नहुँदा सामान्य उपचारका लागि पनि घण्टौँ कुर्नुपर्ने अथवा चर्को मूल्य तिरेर नेपालगन्ज तथा अन्य निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता छ। “सरकारी अस्पतालबाट सहज सेवा पाउने आशा लिएर आएकि थिए, तर यहाँ आएपछि न डाक्टर भेटिन्छन्, न त भनेको बेला औषधि नै पाइन्छ, नत बत्ती नै छ ” राप्ती सोनारी ४ गौरी गाउँ निवासी २८ वर्षिय आसा थारु दुःख व्यक्त गर्छिन । अस्पतालको फार्मेसीमा सरकारले निःशुल्क दिने भनिएका अत्यावश्यक औषधिसमेत पर्याप्त मात्रामा उपलब्ध नभएको बिरामीहरूको गुनासो छ।

ल्याब सेवा कमजोर, रिपोर्टका लागि अन्यत्रै धाउनुपर्ने
अस्पतालको प्रयोगशाला (ल्याब) को अवस्था पनि उस्तै निराशाजनक छ। आवश्यक उपकरण र दक्ष जनशक्तिको अभावमा ल्याबका सेवाहरू प्रभावकारी हुन सकेका छैनन्। जसका कारण बिरामीहरू सामान्य रगत वा दिसा-पिसाब परीक्षणका लागि पनि बाहिरका निजी ल्याबहरूमा महँगो शुल्क तिर्न बाध्य छन्।

बत्ती जाँदा अन्धकार: सुत्केरीहरू सबैभन्दा बढी मर्कामा

​अस्पतालको सबैभन्दा संवेदनशील समस्या भनेको विद्युत् आपूर्ति र वैकल्पिक ऊर्जाको अभाव हो। यस क्षेत्रमा बारम्बार लाइन काटिने (विद्युत् अवरोध हुने) समस्या छ। अस्पतालमा जेनेरेटर वा सोलार जस्ता वैकल्पिक ऊर्जाको उचित व्यवस्था नहुँदा रातिको समयमा लाइन जाँदा सिंगो अस्पताल अन्धकार बन्ने गरेको छ।

​यो समस्याको सबैभन्दा ठूलो मार सुत्केरी हुन आउने महिलाहरूमा परेको छ। रातिको समयमा बत्ती जाँदा सुत्केरी र नवजात शिशुहरूलाई गर्मी र अन्धकारमा राख्नुपर्ने नाजुक स्थिति छ। आकस्मिक उपचार वा सुत्केरी गराउने कार्यमा संलग्न स्वास्थ्यकर्मीहरूले मोबाइलको फ्ल्यासलाइट (टर्च) बालेर समेत सेवा दिनुपर्ने बाध्यता रहेको स्रोतले जनाएको छ।

यस्तो छ ​स्थानीयको माग
​स्थानीय बासिन्दाहरूले गाउँपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै अस्पतालमा तत्काल डाक्टरहरूको दरबन्दी पूर्ति गर्न, औषधिको पर्याप्त व्यवस्था मिलाउन, ल्याबको स्तरोन्नति गर्न र २४सै घण्टा विद्युत् आपूर्तिका लागि तत्काल वैकल्पिक ऊर्जा (सोलार वा जेनेरेटर) को व्यवस्था गर्न माग गरेका छन्।

जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्थानीय सरकार र अस्पताल प्रशासनले बेलैमा कदम नचाले यसले अझ भयावह रूप लिने देखिन्छ। स्थानीय सरकारले यसप्रति चाँडोभन्दा चाँडो समस्याको समाधान खोजियोस्।

प्रतिक्रिया दिनुहोस्