लामो रस्साकस्सीपछि त्रिभुवन माविमा विद्यालय व्यवस्थापन समिति गठन – Buletnews
व्यवस्थापकीय विषयहरूले निकास पाउने आशा
लामो रस्साकस्सीपछि त्रिभुवन माविमा विद्यालय व्यवस्थापन समिति गठन

शैक्षिक गुणस्तर सुधारमा नयाँ नेतृत्वको प्रतिबद्धता, बुलेट न्युजका सम्पादक संजय मण्डल सदस्यमा चयन

  • भुवन थापा

कोहलपुर, बाँके: कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा लामो समयदेखि चलिरहेको राजनीतिक दाउपेच र रस्साकस्सी अन्त्य गर्दै अन्ततः विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन गरिएको छ। नयाँ समिति गठनसँगै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन तथा विद्यालय विकासका कार्यले थप गति लिने अपेक्षा गरिएको छ।

प्रचलित कानुनी व्यवस्था अनुसार सम्बन्धित वडा अध्यक्ष पदेन सदस्य रहने, एक जना शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापक सदस्य रहने प्रावधान अनुरूप अभिभावक प्रतिनिधिबाट चार जना सदस्य चयन गरिएको विद्यालयले जनाएको छ।

चयन भएका सदस्यहरूमा केशराज खड्का अध्यक्ष, सञ्जय मण्डल, गीताञ्जली सापकोटा र उम्बा कला शाही सदस्यमा चयन भएका छन्।

नवनिर्वाचित समितिले विद्यालयमा गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण, भौतिक पूर्वाधारको विकास, पारदर्शी व्यवस्थापन तथा अभिभावक–विद्यालय सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, स्थानीय सञ्चार क्षेत्रसँग आबद्ध तथा बुलेट न्युजका सम्पादक सञ्जय मण्डल विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन भएपछि शिक्षा र सञ्चारबीचको समन्वय थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। विद्यालयका गतिविधिलाई पारदर्शी, उत्तरदायी र समुदायसँग थप नजिक बनाउँदै शैक्षिक गुणस्तर सुधारमा उनको अनुभव र सक्रिय भूमिकाले सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

विद्यालय व्यवस्थापन समिति गठन भएसँगै लामो समयदेखि अन्योलमा रहेका व्यवस्थापकीय विषयहरूले निकास पाउने र समग्र विद्यालयको शैक्षिक तथा संस्थागत विकासले नयाँ गति लिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्