बाँकेमा खुकुरी प्रहारबाट एक घाइते, डोल्पामा ५५ लाख ९० हजार स्रोत नखुलेको रकमसहित दुई पक्राउ – Buletnews
बाँकेमा खुकुरी प्रहारबाट एक घाइते, डोल्पामा ५५ लाख ९० हजार स्रोत नखुलेको रकमसहित दुई पक्राउ

२६ वर्षीय विकास शाहीमाथि बेलपुर निवासी २८ वर्षीय साजन सुनार सहित ४/५ जना व्यक्तिले खुकुरी र इँटा प्रहार

  • बुलेट न्युज

नेपालगञ्ज/डोल्पा, असार ३२:  बाँकेको नेपालगञ्जमा पैसा लेनदेनको विवादमा एक युवकमाथि खुकुरी प्रहार भएको छ भने डोल्पामा प्रहरीले स्रोत नखुलेको रु. ५५ लाख ९० हजार नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बुधबार राति करिब १०:०३ बजे नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रमा पैसा लेनदेनको विषयमा भएको विवादका क्रममा २६ वर्षीय विकास शाहीमाथि बेलपुर निवासी २८ वर्षीय साजन सुनार सहित ४/५ जना व्यक्तिले खुकुरी र इँटा प्रहार गरेका हुन्।

घटनामा घाइते भएका शाहीको भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय बाँके र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान सम्पन्न गरी फरार रहेका आरोपितहरूको खोजी तीव्र पारेको छ।

यता, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडकखण्डमा सवारी चेकजाँचका क्रममा प्रहरीले स्रोत नखुलेको रु. ५५ लाख ९० हजार नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

भे १३ प ९२६५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक विष्णुलाल रोकाय (३२) र पछाडि सवार भक्ति चन्द्र रोकाय (४२) को साथबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।

बरामद रकमको स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त कारबाहीमा जिल्ला प्रशासन कार्यालय दुनै, सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म मुख्यालय दुनै तथा प्रहरी चौकी त्रिपुराकोटको संयुक्त टोली परिचालन भएको थियो।

प्रतिक्रिया दिनुहोस्