एक लाख टन मल बन्दरगाहमा : रित्तो हात धान रोप्दै किसान – Buletnews
एक लाख टन मल बन्दरगाहमा : रित्तो हात धान रोप्दै किसान

मल हिडेको भएपनी किसानलाई ‘लंकामा सुन छ, कान मेरो बुच्चै’

  • बुलेट न्युज

काठमाडौं: नेपालमा रासायनिक मलको बढी खपत हुने बर्खे धानको सिजन चलिरहेको छ। अहिले धमाधम धान रोपाई गरिरहेका किसानलाई मलको चिन्ताले सताइरहँदा सरकारले समयमै मल उपलब्ध गराउन आपूर्ति व्यवस्थापनमा जोड दिइएका जनाएको छ।

मलको आपूर्ति सहज बनाउन खरिद गरेको रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुग्ने क्रम जारी रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। तर किसानलाई ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ भनेजस्तै भएको छ।

कृषि मन्त्रालयले हाल मल वितरक दुवै कम्पनी (कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन)सँग मौज्दात रहेको मल वितरण व्यवस्थापन कार्यविधि बमोजिम बिक्री वितरण भइरहेको बताएको छ। ३० हजार मेट्रिक टन डीएपी भारतको विशाखापट्टनम र २७ हजार टन डीएपी भारतको कोलकत्ता बन्दरगाहमा आइपुगेको छ ।

‘दुवै पोर्टमा हाल प्याकिङ्ग भइरहेको, विशाखापट्टनम पोर्टबाट मल लोड भइ हिँडिसकेको र कलकत्ताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको छ’, मन्त्रालयले भनेको छ, ‘सरकार–सरकार (जिटूजी) सम्झौताअन्तर्गत खरिद गरिएको थप डीएपी साउन ३ गते कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका रहेको छ।’

यस्तैगरी, तत्काल ६० हजार टन मात्र युरिया मल लोड भएका जहाजहरू भोलि (साउन १ गते) सम्म कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका रहेको मन्त्रालयले जनाएको छ।

किसानहरुले भने धान रोप्ने बेलामा चाहिएको मल नपाएको गुनासो गरेका छन्। रोपाइँ सकिने बेलासम्म पनि मल कोलकाताबाट नेपाल नभित्रिने देखिएको भन्दै उनीहरुले सरकारले समयमै मलको व्यवस्थापन गर्न नसकेको बताएका छन्।

तथापि, कोलकाता बन्दरगाहमा आइपुगेका र आउने क्रममा रहेका मलहरुलाई आवश्यक भन्सार तथा ढुवानी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा नेपाल भित्र्याउने मन्त्रालयले जनाएको छ। कृषि उत्पादन वृद्धिमा किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन आपूर्ति व्यवस्थापन र समन्वयलाई तीव्र बनाएको दाबी सरकारको छ।

धानमा कुन बेला चाहिन्छ मल ?

सरकारले सिफारिस गरे अनुसार धानमा तीनपटक रासायनिक मलको प्रयोग गर्नुपर्छ। बीउ लगाउनुअघि फस्फोरस, पोटास, जिंक सल्फेट र बोरेक्सको पूरै मात्रा र नाइट्रोजन एक तिहाई मात्रा प्रयोग गर्नुपर्छ।

त्यसपछि, बाली लगाएको २५ देखि ३० दिनपछि (धानको गाँज आउने समयमा) एक तिहाइ नाइट्रोजन हाल्नुपर्छ । बाँकी एक तिहाई मात्रा ५० देखि ५५ दिनपछि (धानको बाला लाग्नु वा फूल फुल्नभन्दा अगाडि ) हाल्नु पर्छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अनुसार, धान खेती गर्दा पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा नाइट्रोजन १२० किलो, फस्फोरस ४० किलो र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ।

यस्तैगरी, मध्य तराईको पर्सादेखि सप्तरीसम्मको क्षेत्रमा धान बाली लगाउँदा नाइट्रोजन १२० किलो, फस्फोरस र पोटास ४०-४० किलो प्रतिहेक्टर प्रयोग गर्न सिफारिस गरिएको छ भने पश्चिम तराईको रूपन्देही, कपिलवस्तु र परासीमा धान खेतीका लागि नाइट्रोजन १३० किलो, फस्फोरस ४० किलो र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ।

बाँकेदेखि कञ्चनपुरसम्मको क्षेत्रमा नाइट्रोजन १०० किलो, फस्फोरस र पोटास ३०-३० किलो प्रतिहेक्टर तथा भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुर जिल्लामा धानका लागि नाइट्रोजन १२५ किलो, फस्फोरस र पोटास ४०-४० किलो प्रतिहेक्टर हाल्नु पर्छ।

पहाडी क्षेत्रमा धानखेती गर्दा नाइट्रोजन १०० किलो, फस्फोरस र पोटास ३०-३० किलो प्रतिहेक्टर हाल्न नार्कले सिफारिस गरेको छ।
सबै क्षेत्रमा रोपिने वर्णशंकर धानमा भने नाइट्रोजन १५० किलो, फस्फोरस ५० किलो र पोटास ६० किलो प्रतिहेक्टर हाल्नुपर्छ। धानमा जिङ्क २–३ किलो र बोरोन १ किलो प्रतिहेक्टर भनिएको छ।

प्रतिक्रिया दिनुहोस्