लागू औषधसहित काठमाडौमा पक्राउ परे भारतको रुपैडियाका राज सोनि – Buletnews
लागू औषधसहित काठमाडौमा पक्राउ परे भारतको रुपैडियाका राज सोनि

प्रहरीमाथि हातपात भएपछि ५ राउन्ड हवाई फायर र २ राउन्ड गोली प्रहार, एक घाइते

  • बुलेट न्युज

बाँके:  काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोरमैला गेट नजिक लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले तीन जनालाई ठूलो परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारतको रुपैडिया घर भएका २६ वर्षीय राज सोनी, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ परकेपुरका १९ वर्षीय निखिल सोनी र सुर्खेतको पञ्चपुरी नगरपालिका–५ घर भई बस्ने १७ वर्षीया सोफिया मगरलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनीहरूले प्रहरीमाथि नै हातपात गरेका थिए।

प्रहरीमाथिको आक्रमणपछि आत्मरक्षाका लागि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको तथा अवस्था नियन्त्रणमा नआएपछि राज सोनीको खुट्टातर्फ २ राउन्ड गोली प्रहार गरेको जनाएको छ।
घटनापछि उनीहरूको साथबाट Tapentadol नामक लागुऔषधका २४ हजार ७ सय ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते भएका राज सोनीको बायाँ घुँडामुनि र दायाँ घुँडामाथि गोली लागेको छ। उनलाई तत्काल राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धमा उपचारका लागि लगिएको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका निखिल सोनी र सोफिया मगरलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वर लगिएको छ। घटनापछि प्रहरी वृत्त कालिमाटीबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलमा परिचालन गरिएको थियो। घटनास्थल प्रहरी वृत्त कालिमाटीबाट करिब २ किलोमिटर पूर्वतर्फ पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्