बाँके: नेपालगन्जका सडकमा जथाभावी यात्रु तान्ने सार्वजनिक यातायात कर्मचारीविरुद्ध प्रहरीले कडाई थालेको छ । त्यसका लागि सम्बद्ध कम्पनी तथा समितिसँग पूर्व समझदारी गरेको प्रहरीले आज मंगलवारदेखि कार्यान्वयनमा कडाई गर्ने भएको हो ।
पहिलो चरणमा कर्मचारी संख्या यकिन गरि उनीहरुको पहिचान गर्न थालेको प्रहरीले आजदेखि उनीहरुलाई परिचयपत्रसहित ‘पोशाक कोड’मा ड्यूटी अनिवार्य गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज, प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । ‘उहाँहरु मंगलवारदेखि आफ्नो परिचय पत्र र युनिफर्ममा मात्रै सडकमा देखिनु हुनेछ,’ व्यवसायीहरुका सम्बद्ध कम्पनी तथा समितिका पदाधिकारीहरुसँग भएको छलफलबारे जानकारी दिंदै प्रहरी निरीक्षक खड्काले भने ।
सडकमा अराजकता मच्चाएको भन्दै ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षाबारे निरन्तर आलोचना भइरहँदा प्रहरी निरीक्षक खड्काले त्यसविरुद्ध चरणबद्ध सुधारका योजना बनाइएको बताए । ‘पहिलो चरणमा आधिकारिक कर्मचारीमात्रै सडकमा देखिउन् भन्ने हाम्रो प्रयास हो,’ खड्काले भने, ‘त्यसपछि उनीहरुले गर्ने व्यवहारको सुधारमा प्रशिक्षित गर्नेदेखि सचेत गराउनेसम्मका कारबाही अगाडी बढाउने हो ।’
त्यसक्रममा जिल्लास्थित यातायात व्यवसायीहरुका कम्पनी तथा समितिहरुसँग प्रहरीले कर्मचारी दरवन्दी र नियुक्ति अनुसारका कर्मचारी विवरण माग गरेको छ । ‘साउन १ गतेसम्म आइपुग्नुपर्ने विवरण अझैसम्म आएको छैन,’ प्रहरी निरीक्षक खड्काले भने, ‘अनाधिकृत व्यक्ति सडकमा उभिएर कुनै हर्कत गरेको पाइए पक्राउ गरि मुद्दा चलाउने हो, अरु विकल्प छैन ।’ यद्धपि, पहिलो चरणमा समझदारीपूर्ण ढंगले प्रहरीले काम गरिरहेको खड्काको भनाइ छ । ‘अटेरी गरिरहे यस्तै अराजकताले अब चल्दैन,’ उनले भने ।
सडकमा यात्रु तानातान गरेर अराजकता मच्चाउनेहरुलाई दैनिकजसो ‘नसिहत’ दिएर छाडिने गरेको प्रहरीले जनाएको छ । ‘दैनिक १२/१५ जनासम्म हामीले फेला पारेर सम्झाइबुझाइ गरिरहेका हुन्छौं,’ प्रहरी चेकपोष्ट बसपार्कका इन्चार्ज, सई पदमबहादुर रोकायाले भने, ‘अटेरी बढ्दै गएकाले नसिहतबाट पटक्कै समाधान भएन ।’ उनले बसपार्कमा मात्रै नभएर यसखालको समस्या सुर्खेतरोड पुष्पलाल चोक, धम्बोझी लगायत धेरैतिर छरिएकाले यात्रुले दुख पाउने अवस्था आएका बताउँछन् ।
नेपाल यातायाता व्यवसायी राष्ट्रिय महासंघका सह–कोषाध्यक्ष शोभाखर पौडेलले व्यवसायी र प्रहरी प्रशासनबीच अराजकता अन्तका लागि उपयुक्त समाधानको उपाय खोजिएकाले समाधान हुने विश्वास गरिएको बताए । ‘आपसी समझदारीबाटै उपाय खोजिएको छ,’ व्यवसायी नेता पौडलले भने, ‘पछिल्लो समझदारीको व्यवहारिक कार्यान्वयनले यातायात व्यवस्थापन र यात्रु सुरक्षामा सकारात्मक सहजीकरण पक्कै गर्छ ।’











