बाँके: पछिल्लो समय लागुऔषधविरुद्ध कडा रूपमा उत्रिएको प्रहरीले बाँकेबाट ठुलो परिमाणमा ब्राउनसुगर बरामद गर्न सफल भएको छ।
प्रहरीले बाँकेको नेपालगन्जबाट चार सय ग्राम लागुऔषध ब्राउनसुगरसहित रुकुम पश्चिमका दुई महिलालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखाबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित ‘द नेक्स्ट बाइट रेस्ट्रो कफी सप’ अगाडि लागुऔषध खरिद–बिक्री भइरहेको सूचनाका आधारमा छापा मारेको थियो। सोही क्रममा दुई जना महिलालाई चार सय ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ की निशा पुनमगर र सोही जिल्लाको त्रिवेणी गाउँपालिका–२ की ललिता बुढाथोकी रहेका छन । उनीहरूमध्ये निशा पुनमगरको शरीर खानतलासी गर्दा उक्त ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट चार सय ग्राम लागुऔषध ब्राउनसुगर र तीन थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेबाट १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त लागुऔषध कुन प्रयोजनका लागि कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पछिल्लो समय सीमापारि भारतको रुपैडिहा र सीमावारि नेपालगन्ज तथा कोहलपुर लगायतका क्षेत्रमा प्रहरीले लागुऔषधविरुद्ध कडा अभियान सञ्चालन गरेको छ। सोही कारण दुवैतर्फ दैनिकजसो लागुऔषधसहित ओसारपसार र कारोबारमा संलग्नहरू पक्राउ पर्दै आएका छन्।











