सुनसरी: सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’ यात्राका लागि डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच मध्यरातमा झडप भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
आइतबार राति भएको उक्त झडपमा परी प्रदर्शनकारी र सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला र ध्वनि प्रदूषण भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो।
विवाद बढ्दै जाँदा दुवै समूहबीच भिडन्तको स्थिति सिर्जना भएको थियो। उत्तेजित भीडले कप्तानगन्ज बजार क्षेत्रका सर्वसाधारणका घर, मेडिकल, सवारीसाधन तथा अन्य सार्वजनिक र निजी संरचनामा व्यापक तोडफोडका साथै आगजनी गर्न थालेपछि अवस्था थप तनावग्रस्त बनेको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। तर, हवाई फायर गर्दा पनि भीड नियन्त्रणमा नआई तोडफोड र आगजनी नरोकिएपछि बाध्य भएर गोली चलाउनु परेको स्थानीय प्रशासन तथा प्रहरीको भनाइ छ।
घटनापछि कप्तानगन्ज र आसपासको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ।
अनिश्चितकालीन कर्फ्यु आदेश जारी
दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र २२ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशानुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका चार किल्लाभित्र कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन, जुलुस-प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
प्रशासनका अनुसार हरिनगर बजार क्षेत्रको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगञ्ज बजारको यादव टोलदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कुलसम्म र देवानगञ्ज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मको सीमाभित्र कर्फ्यु लागू गरिएको छ।
आइतबार राति बोलबमका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका हिन्दु धर्मावलम्बी र अर्को समुदायबीच डिजेको आवाजलाई लिएर विवाद हुँदा झडप भएको थियो। झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी २२ जना घाइते भएका छन्।
स्थिति थप बिग्रन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सुरक्षाकर्मी टोली परिचालन गरिएको छ। कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी प्रशासनले दिएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पूर्ण पालना गर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। साथै, स्थिति नियन्त्रणमा लिन दुवै पक्षका प्रतिनिधिहरूसँग निरन्तर छलफल र संवाद भइरहेको स्थानीय प्रशासनले जनाएको छ।











