बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु – Buletnews
बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मृतक बालिकाको शव हात्तीले कुल्चिएर क्षतविक्षत बनाएको अवस्थामा नेपाल–भारत सिमा क्षेत्रमा फेला

  • बुलेट न्युज

बर्दिया: बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० कर्मोहनी बस्ने ४० वर्षीया बालिका पुरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

भारतको सिमा दशगजा क्षेत्रनजिक भारतको जंगली हात्तीले आक्रमण गर्दा पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार भारतको जंगलमा भैंसी चराउन गएका समयमा जंगली हात्तीले लखेटेपछि बालिकासहित तीन जना जंगलबाट भागेका थिए । साथीहरू घर आइपुगे पनि बालिका राति अबेरसम्म घर नआएपछि खोजतलास सुरु गरिएको थियो ।

मृतक बालिकाको शव हात्तीले कुल्चिएर क्षतविक्षत बनाएको अवस्थामा नेपाल–भारत सिमा क्षेत्र दशगजा नजिक नेपालतर्फ बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनुभयो । उहाँले मृतकको शव बर्दिया अस्पतालमा पोष्टमार्टम पश्चात् मृतकका आफन्तलाई जिम्मा लगाइएको बताए ।

भारतको सिमावर्ती क्षेत्रमा भैंसी चराउन गएको समयमा हात्तीले छोपेर लगेको मृतकका श्रीमान तेजबहादुर पुरीले बताए। सँधैझै दशगजा क्षेत्रमा भैंसी चराउन गएको समयमा हात्तीले आक्रमण गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्