विरगन्जको कर्फ्यू आज बिहान ८ बजेसम्म कायम – Buletnews
विरगन्जको कर्फ्यू आज बिहान ८ बजेसम्म कायम
  • बुलेट न्युज

पर्सा:  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा हिजो बेलुकी ६ बजेदेखि आज बिहान ८ बजेसम्म कायम रहने गरी कर्फ्यू लगाएको छ । हिजो दिउँसो १ बजेदेखि लगाइएको निषेधाज्ञामा पनि विरोध प्रदर्शन भएपछि प्रशासनले कर्फ्यू लगाएको हो ।

स्थानीय प्रशासन ऐन बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी त्यस सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।

कर्फ्यूको बेलामा अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनको लागि प्रशासनले अनुरोध गरेको छ । कर्फ्यू आदेश अवधिमा अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने प्रशासनले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सिरहाले धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न आम नागरिकमा विशेष आग्रह गरेको छ । प्रशासनले निकालेको विज्ञप्तिमा एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामा आँच पुर्याउने, घृणा फैलाउने वा कसैको मानमर्दन गर्ने कार्यहरू राष्ट्रिय एकता र सामाजिक सौहार्दताको विरुद्ध हुने उल्लेख छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक अफवाह फैलाउने र साम्प्रदायिक भावना भड्काउने प्रयासहरू भइरहेको भन्दै प्रशासनले यस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा हुने गतिविधिहरूको सूक्ष्म निगरानी भइरहेको भन्दै यदि कसैले सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री पोष्ट गरेमा वा फैलाएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

नागरिकहरूलाई संयमित रहन र सामाजिक एकता कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्