दाङ र सल्यान जोड्ने पैयाखरे–राम्री सडक खण्डमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द हुने – Buletnews
दाङ र सल्यान जोड्ने पैयाखरे–राम्री सडक खण्डमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द हुने
  • बुलेट न्युज

सल्यान: राप्ती राजमार्गअन्तर्गत दाङ र सल्यान जोड्ने पैयाखरे–राम्री सडक खण्डमा सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय दाङका अनुसार पैयाखरे (हर्नेटी)देखि राम्रीसम्मको सडक खण्ड आगामी माघ ८ गतेदेखि माघ २५ गतेसम्म दैनिक दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सञ्चालन गरिने छ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर विष्टका अनुसार उक्त खण्डमा सडक चौडा गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको छ । गत वर्ष राम्री–कपुरकोट सडक खण्डमा दिउँसोको समयमा सवारी आवागमन बन्द गरी काम गर्दा सहज भएको अनुभवका आधारमा यस वर्ष पनि सोही मोडालिटी अपनाइएको उनले जानकारी दिए।

निर्माण अवधिभर साना तथा अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। साथै आवश्यक सहजीकरण तथा ट्राफिक व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय तथा ट्राफिक प्रहरी कार्यालय दाङ र सल्यानसँग समन्वय गरिएको जनाइएको छ।

सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार यात्रुहरूले पैयाखोरिया–सातावास–किमुचौर–कपुरकोट सडक तथा तुलसीपुर–कालिमाटी–लुहाम सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्ने छन्। उनले निर्माण अवधिमा यात्रा गर्ने यात्रु, सवारी चालक तथा सरोकारवालालाई तोकिएको समय र वैकल्पिक मार्गलाई ध्यानमा राखी यात्रा योजना बनाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्