सामाजिक उत्तरदायित्व बहन गर्दै तक्षशिलामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न – Buletnews
५२५ अभिभावकले गरे स्वास्थ परिक्षण
सामाजिक उत्तरदायित्व बहन गर्दै तक्षशिलामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

तक्षशिला एकेडेमीद्वारा शिक्षासँगै स्वास्थ्य र सामाजिक चेतनालाई प्राथमिकतामा राख्दै समाजमा सकारात्मक सन्देश प्रवाह

  • बुलेट न्युज

बाँके: समाजप्रति उत्तरदायित्व वहन गर्दै बाँकेको कोहलपुर नगरपालिका–१० मा अवस्थित तक्षशिला एकेडेमीले विद्यालय प्राङ्गणमै नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विद्यालयका अभिभावकसँगै वरपरका स्थानीय बासिन्दालाई लक्षित गर्दै आयोजित उक्त शिविरले शिक्षा र स्वास्थ्यबीचको अविच्छिन्न सम्बन्धलाई थप बलियो बनाएको छ।

विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको शिविरमा केयर सिटि हस्पिटल नेपालगन्जका अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। स्त्री तथा प्रसूति एवं ल्याप्रोस्कोपी सर्जन डा. राजन महत, कन्सल्टेन्सी फिजिसियन डा. उज्ज्वल आचार्य, नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. विष्णु कुमार थापा र ग्यास्ट्रो तथा हेपाटो–बिलिएरी सर्जन डा. सुदीप रेग्मीको टोलीले बालरोग, स्त्रीरोग तथा सामान्य स्वास्थ्य समस्याको जाँच तथा परामर्श प्रदान गरेको विद्यालयका प्रधानाध्यापक भिम बहादुर रोकायाले बुलेट न्युजला जानकारी दिएका छन।

उक्त शिविरमा विद्यालय आसपासका सर्वसाधारण र अभिभावक गरी ५२५ जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा सहभागी एक चिकित्सकका अनुसार थप उपचार आवश्यक परेका बिरामीलाई केयर सिटी हस्पिटल नेपालगन्जमा सम्पूर्ण उपचार सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

स्वास्थ्यजस्तो संवेदनशील विषयमा विद्यालयले अग्रसरता देखाउँदै परामर्श र परीक्षण कार्यक्रम आयोजना गर्नु उदाहरणीय कार्य भएको अभिभावक सुदर्शन शर्माले बताए। उनका अनुसार तक्षशिलाले पृथक पहिचान निर्माण गर्दै समाजप्रति जिम्मेवार शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गरिरहेको छ।

विद्यालयका सञ्चालक अध्यक्ष विष्णु प्रसाद बेल्बासेले शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणका क्षेत्रमा विद्यालयले उल्लेखनीय योगदान दिँदै आएको उल्लेख गरे। वार्षिक क्यालेन्डरअनुसार स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउँदै उनले विद्यालयले अतिरिक्त खर्चको भार नबढाई रचनात्मक तथा सामाजिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको स्पष्ट पारे।

उनले आजको समयमा विद्यालयमा अध्ययनरत बालबालिकाको नियमित स्वास्थ्य परीक्षण अत्यावश्यक भइसकेको बताउँदै अभिभावकहरूलाई समेत बेला–बेला स्वास्थ्य परीक्षण गराउन सचेत गराउनु शिविरको मुख्य उद्देश्य रहेको धारणा व्यक्त गरे। विद्यालयमा अध्ययनरत करिब ९०० विद्यार्थी, ६० भन्दा बढी शिक्षक–कर्मचारी तथा ५२५ भन्दा बढी अभिभावक तथा स्थानीय नागरिकले स्वास्थ्य परीक्षण गराएको उक्त शिविर बिहान १० बजेदेखि साँझ करिब ५ बजेसम्म सञ्चालन भएको प्रधानाध्यापक रोकायाले जानकारी दिएका छन ।

तक्षशिला एकेडेमीले शिक्षासँगै स्वास्थ्य र सामाजिक चेतनालाई प्राथमिकतामा राख्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको यस कार्यक्रमले विद्यालयलाई समुदायसँग अझ नजिक ल्याएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्