बालेन–मालपानी कनेक्सन : गाडी, नागरिकता र गुट्खा व्यापारकाे नालीबेली – Buletnews
बालेन–मालपानी कनेक्सन : गाडी, नागरिकता र गुट्खा व्यापारकाे नालीबेली

सरकारी निकायमा परेको जाहेरीअनुसार मालपानीले झुटा तथा किर्ते विवरण पेश गरी दुई फरक जिल्लाबाट नेपाली नागरिकता लिएको आरोप

  • बुलेट न्युज

काठमाडौं :काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले प्रयोग गरिरहेको करिब ८ करोड रुपैयाँ मूल्यको ‘ब्राण्ड न्यु डिफेण्डर’ गाडी कसरी र कुन हैसियतमा प्राप्त भयो भन्ने विषयले नयाँ विवाद जन्माएको छ। गाडी उपहार दिने भनिएका उद्योगपति कमलकिशोर मालपानीको नागरिकताको वैधता र व्यवसायिक गतिविधिमाथि समेत गम्भीर प्रश्न उठेका छन्।

सरकारी निकायमा परेको जाहेरीअनुसार मालपानीले झुटा तथा किर्ते विवरण पेश गरी दुई फरक जिल्लाबाट नेपाली नागरिकता लिएको आरोप छ। जाहेरीमा जनाइएअनुसार उनले रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिँदा सप्तरी जिल्ला प्रशासन कार्यालयबाट जारी भएको भनिएको नागरिकताको विवरण पेश गरेका थिए। तर उक्त नागरिकता नम्बर सप्तरी प्रशासनको अभिलेखमा नदेखिएको स्रोतको दाबी छ।

यही नागरिकताको आधारमा मालपानीका छोरा नितेश मालपानीले वंशजको नागरिकता लिएको उल्लेख गर्दै उनीमाथि समेत छानबिन र कारबाहीको माग गरिएको छ। नितेश मालपानीकै नाम जोडिएको कम्पनीमार्फत बालेन साहले प्रयोग गरिरहेको महँगो गाडी उपलब्ध गराइएको दाबी गरिएको छ।

गाडी कसको, कसरी आयो?

तीन महिनाअघि ०८२ असोज २३ गते वीरगन्ज भन्सारबाट छुटाइएको ‘ल्यान्ड रोभर डिफेण्डर’ गाडी त्रिमूर्ति इण्डष्ट्रिज प्रालिको नाममा दर्ता छ। उक्त गाडी नबिल बैंक लिमिटेडबाट सवारी साधन कर्जा शीर्षकमा खरिद गरिएको देखिन्छ। त्रिमूर्ति इण्डष्ट्रिजका सञ्चालक नितेश मालपानी हुन् भने उनका पिता कमलकिशोर मालपानी यशोदा फुड्स (करेन्ट/लाली चाउचाउ) र श्रीराम टोबाको उद्योग (भोला, करेन्ट गुट्खा, जित खैनी) का मालिक हुन्।

अर्थ मन्त्रालयसँग सम्बन्धित स्रोत उद्धृत गर्दै केही सञ्चारमाध्यमले बालेनलाई गाडी दिलाउने प्रक्रियामा बिचौलिया दिपक भट्ट र ‘जेनजी आन्दोलन’ सँग जोडिएका व्यक्तिहरूको भूमिका रहेको दाबी गरेका छन्। यद्यपि, यसबारे सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया आएको छैन।

करछलीदेखि तस्करीसम्मका आरोप

मालपानीमाथि गुट्खा, चाउचाउ, मसला, प्याकेजिङ उद्योगलगायत क्षेत्रमा करछली, अन्तःशुल्क छलि, कम तौलका सामग्री बिक्री तथा ट्रेडमार्क उल्लंघनजस्ता आरोप विगतदेखि लाग्दै आएका छन्। श्रीराम टोबाकोको नाममा सुपारी आयात गरी भारततर्फ तस्करी गर्ने गतिविधिमा संलग्न रहेको आरोप पनि लुम्बिनी क्षेत्रमै चर्चित छ।

रोचक संयोग के छ भने बालेन साहले काठमाडौंमा गुट्खा बिक्री निषेध गरी कडा कारबाही चलाएका थिए। अहिले उनै चर्चित गुट्खा व्यापारीसँग जोडिएको पक्षबाट अत्यन्त महँगो गाडी प्रयोगमा आउनुले “कथनी र करनीको अन्तर” देखिएको कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताको भनाइ छ।

ठूलो व्यवसाय, गहिरो राजनीतिक जालो

मालपानी समूहअन्तर्गत यशोदा फुड्स, श्रीराम टोबाको, त्रिमूर्ति इन्टरप्राइजेज, सोना प्याकेजिङलगायत उद्योग सञ्चालनमा छन्। साथै, हायात प्यालेस बुटवलको अधिकांश र हायात प्यालेस काठमाडौंको ५४ प्रतिशत स्वामित्वसमेत मालपानीसँग रहेको बुझिन्छ।

अझ चासोको विषय, रुपन्देही–२ बाट कांग्रेस उम्मेदवार चुन्नु पौडेल मालपानीका व्यवसायिक साझेदार रहेको तथ्य पनि बाहिर आएको छ।

अझै अनुत्तरित प्रश्नहरू

  • बालेन साहले गाडी कुन हैसियतमा प्रयोग गरिरहेका छन्—उपहार, भाडा वा व्यक्तिगत सम्झौता?
  • नागरिकता प्रकरणबारे गृह प्रशासनको आधिकारिक छानबिन कहिले सुरु हुन्छ?
  • सार्वजनिक पदमा बसेका व्यक्तिले विवादास्पद व्यापारीसँग लिएको सुविधाको नैतिकता कसले मूल्याङ्कन गर्ने?

सम्बन्धित सबै पक्षको प्रतिक्रिया आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्