बाँकेको तीन निर्वाचन क्षेत्रमा ५६ जना उम्मेदवार – Buletnews
प्रचार प्रसारमा तिब्रता
बाँकेको तीन निर्वाचन क्षेत्रमा ५६ जना उम्मेदवार

६० जना उम्मेदवारले मनोनयन दर्ता गराए पनि चार जनाले उम्मेदवारी फिर्ता लिएपछि ५६ जनाको उम्मेदवारी कायम

  • बुलेट न्युज

बाँके: तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधिसभा सदस्य पदका लागि ५६ जनाको उम्मेदवारी कायम भएको छ।

६० जना उम्मेदवारले मनोनयन दर्ता गराए पनि चार जनाले उम्मेदवारी फिर्ता लिएपछि ५६ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ।

बाँके क्षेत्र नम्बर १ र २ मा चार जनाको उम्मेदवारी फिर्ता भएपनि क्षेत्र नम्बर ३ मा मनोनयन दर्ता गराएका कसैले पनि उम्मेदवारी फिर्ता लिएनन्।

बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी कायम भएको छ भने क्षेत्र नम्बर २ मा २० जनाको र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी कायम भएको छ।

उनले क्षेत्र नम्बर १ बाट प्रदिप पौडेल र दीपकबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएको र क्षेत्र नम्बर २ बाट सरस्वती प्रसाद बर्मा र विजयकुमार गुप्ताले नाम फिर्ता लिएको  बताए।

जिल्लामा ५६ जनाको उम्मेदवारी कायम भएसँगै उम्मेदवार प्रचार प्रसारमा सक्रिय भएका छन्। जिल्लाका मुख्य निर्वाचन अधिकृत दाहालले सबै उम्मेदवार र दलहरुलाई निर्वाचन आचारसहिंताको पालनामा विशेष ध्यान दिन आग्रह गरिएको जनाउँदै  आचारसहिंता उलंघन गरिएको पाएमा कानुन अनुसार कारवाही गरिने बताए।

विभिन्न दलका उम्मेदवारले जिल्लामा शनिबारबाट जनसम्पर्क कार्यालय स्थापना र प्रचार प्रसारलाई तिब्रता दिएका छन ।

प्रतिक्रिया दिनुहोस्