गौशालामा रहेका चौपायालाई चिसोबाट जोगाउन डुडुवामा कम्मल बितरण – Buletnews
गौशालामा रहेका चौपायालाई चिसोबाट जोगाउन डुडुवामा कम्मल बितरण

५० वटा गाई, बाच्छा, बाच्छी र गोरुलाई चिसोबाट बचाउन न्यानो कम्बल उपलब्ध

  • बुलेट न्युज

 बाँके: जिल्लाको डुडुवा गाउँपालिकाले पालिकाभित्रका नागरिकसँगै वन्यजन्तुलाई पनि विशेष ध्यान दिँदै आएको छ । नागरिकका लागि विभिन्न योजना सञ्चालन गर्दै आएको सो पालिकाले गौशालामा रहेका चौपायाहरु चिसोबाट समस्यामा रहेको जानकारी पाएपछि उनिहरुलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ ।   

चिसो मौसमबाट छाडा चौपायालाई जोगाउन गौशालामा न्यानो कम्बलको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले वडा नम्बर ५ कम्दीस्थित बनक्षेत्रको छेउमा रहेको गौशालामा रहेका छाडा गाई–गोरु, बाच्छा–बाच्छीलाई चिसोबाट जोगाउन न्यानो कम्बल र कपडा ओढाएर गोठमा सुरक्षित रूपमा राखिएको जनाए ।

गाउँपालिका अध्यक्ष चौधरीका अनुसार हाल गौशालामा रहेका करिब ५० वटा गाई, बाच्छा, बाच्छी र गोरुलाई चिसोबाट बचाउन न्यानो कम्बल उपलब्ध गराइएको छ । चिसो बढ्दै गएपछि पशुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै गोठभित्र न्यानो वातावरण बनाइएको उनले बताए ।

गाउँपालिकाका अनुसार गौशालामा पराल र भुससहितको चाराको व्यवस्था गरिएको छ । पशुहरूको नियमित निगरानी र हेरचाहका लागि एक जना जनशक्ति पनि खटाइएको छ ।

अध्यक्ष चौधरीले पालिका आसपासका क्षेत्र तथा भारतीय नाकाबाट आएका छाडा चौपायालाई समेत गौशालामा राखेर संरक्षण गरिएको बताए ।

गाउँपालिकाको प्राविधिक शाखाका मदनेश्वर झाले चौपायाका लागि गौशालाका कर्मचारी दामोदर यादवलाई ५० वटा न्यानो कम्बल हस्तान्तरण गरेका हुन। डुडुवा गाउँपालिकाले निर्माण गरेको सो गौशालाको दुई वटा गोठमा करिब एक सय वटा पशु राख्न सक्ने क्षमता रहेको गौशालाका कर्मचारी दामोदर यादवले बताए ।

स्थानीय तहको यस पहलले छाडा चौपायाको संरक्षण र पशु कल्याणप्रति जिम्मेवार स्थानीय शासनको अभ्यासलाई प्रत्यक्ष रुपमा देखाएको स्थानीय नागरिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्