बुटवल: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लीन भएर लागेको बताएका छन । उनले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन आग्रहसमेत गरे। रुपन्देहीको सैनामैना–६, कलौनीमा सैनामैना व्यापार सङ्घको आयोजनामा सुरु भएको सातौँ ‘सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२’ सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गरे ।
आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकाङ्क्षा पूरा गर्न सकिने बताए । उनले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवर्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको चर्चा समेत गरे । मेला महोत्सवमा स्थानीय उत्पादनका सामग्रीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै आचार्यले मेला महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था बन्न नहुने बताए । मेला महोत्सवमा स्थानीय उत्पादनले अनिवार्य रूपमा प्राथमिकता पाउनुपर्ने उनको थप भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा सधैँ उभिने स्पष्ट पार्दै “प्रदेश सरकार उद्योगी व्यवसायीको रक्षाकवच बनेर उभिएको जिकिर गरे । व्यवसायीको लगानीको सुरक्षाको ग्यारेन्टीका लागि हामी खटिरहेका छौँ ।” उनले भने ।
सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मालगायतले बोल्दै स्थानीयस्तरमा आयोजना हुने महोत्सवले स्थानीय बजार प्रवर्धनमा टेवा पुरयाउने बताए ।
माघ २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा आयोजकले एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने र पाँच करोड बराबरको आर्थिक कारोबार हुने बताएका छन् । सैनामैना व्यापार सङ्घका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहअघि सैनामैनाका विभिन्न स्थानबाट चेतनामूलक रयालीसमेत निकालिएको थियो ।











