कोहलपुर,बाँके: त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्यालले बाँकेको कोहलपुर २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुल बाँके जिल्लाको शैक्षिक साख भएको वताउनु भएको छ । गोरखा स्कुलको रजत जयन्ती समापन समारोहलाई सम्वोधन गर्दै उपकुलपति प्रा.डा. अर्यालले यस्तो वताउनु भएको हो । प्रमुख अतिथी समेत रहनु भएका उहाँले विद्यालयको शैक्षिक उचाईप्रति मुक्त कण्ठले प्रसंशा गर्दै देशलाई चाहिने योग्य जनशक्ति निर्माणमा गोरखा स्कुलको महत्वपूर्ण भूमिका रहेको प्रष्ट पार्नुभयो । उहाँले समारोहमै विद्यालयका पूर्व विद्यार्थीहरु डक्टर , इन्जिनियरहरुको रुपमा कार्यक्रममा सहभागिता जनाउनुले पनि गोरखाको ओज गर्विलो भएको पुष्टि भएको वताउनुभयो ।
प्रमुख अतिथी अर्यालले रजत जयन्ती समारोह उदघाटन पानसमा वत्ती बालेर गर्दै विद्यालयको हाताभित्र रहेको शिलालेखको अनावरन गर्नुका साथै प्रकाशन गरेको ‘गोरखा स्मारिका’ को समेत विमोचन गर्नुभएको विद्यालयले जनाएको छ ।
बिशिष्ट अतिथी एवं संघीय शिक्षा, बिज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चुडामणी पौडेलले गोरखा स्कुल पश्चिम क्षेत्रमै शैक्षिक क्षेत्रमा चलायमान विद्यालय भएको औंल्याउदै देशकै नवीनतम् ज्ञान सिप र क्षमता भएका जनशक्ति उत्पादन गर्नेमा आफु विश्वस्त रहेको विचार ब्यक्त गर्नुभयो । उहाँले बाँकेमा आफु जिल्ला शिक्षा अधिकारी रहँदा विद्यालय स्थापना भएको स्मरण गर्दै विद्यालयले विगत दुई दशकभन्दा बढी समयदेखि यस क्षेत्रको शैक्षिक विकासमा पुरयाएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “२५ वर्षको यो यात्रा आफैंमा एउटा गौरवपूर्ण इतिहास हो, यस विद्यालयले दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।’’
कार्यक्रममा विद्यालयमा स्थापनाकालदेखि हालसम्म निरन्तर सेवा प्रदान गर्ने शिक्षक कर्मचारीहरु र पूर्व विद्यार्थीहरु, पूर्व शिक्षक कर्मचारी र पूर्व अभिभावकहरुलाई सम्मान गरिएको थियो भने बिबिध सांस्कृतिक कार्यक्रम , बिज्ञान प्रर्दशनी लगायत गतिविधि गरिएको विद्यालयले जनाएको छ ।
सो समारोहमा लुम्विनी प्रदेश सभा सदस्य माननीय वसन्ती अधिकारी, जिल्ला समन्वय समिति बाँकेका उप प्रमुख सीता कार्की, बैजनाथ गाउँपालिकाका प्रमुख प्रकाश शाही, कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुबेदी,बैजनथा गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, त्रिभुवन विश्वविद्यालयका प्रोफेसर तथा विद्यालयका सल्लाहकार प्रा.डा. गोविन्द प्रसाद ढकाल, पूर्व जिल्ला शिक्षा अधिकारी दुर्गानाथ गौतम, प्राज्ञ महानन्द ढकाल, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नरेन्द्र बम, जिल्ला शिक्षा समन्वय समिति बाँके प्रमुख धनसुदन चौलागाई, प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपाने, प्रहरी उपरीक्षक अंगुर जिसि, कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, क्याम्पस प्रमुखद्धय लालमणि आचार्य र दान वहादुर हमाल लगायत बाँके जिल्लाका कार्यालय प्रमुखहरु,संस्थापक सदस्यहरु, शेयर धनीहरु, पूर्व अभिभाव विद्यार्थी र सामाजिक ब्यक्तिवहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यालयका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरको सभाध्यक्षतामा आयोजित कार्यक्रममा अभिभावक लक्षित स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमका साथै बिभिन्न शैक्षिक स्टलमार्फत शैक्षिक कलाको प्रर्दशनी समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरले शैक्षिक क्षेत्रमा गुणस्तरिय शिक्षा, ब्यबहारिक शिक्षा एवं वाल वालिकाको चाहना बमोजिमकोे शिक्षा प्रदानमा गोरखा स्कुलले कुनै कन्जुस्याइँ नगरेको चर्चा गर्दै समय सापेक्ष शैक्षिक क्यालेन्डर सुधार गर्दै लगिरहेको चर्चा गर्नुभयो । उहाँले विद्यालय पञ्च बर्षीय कार्ययोजना अनुरुप सञ्चालन हुदै आएको औंल्याउदै विषय बिज्ञ तथा परामर्शदाताको प्रत्यक्ष निगरानीमा शिक्षण सिकाइका क्रियाकलापहरु हुदै आएको वताउनु भयो । २५ बर्ष अघि विद्यालय स्थापनाको समयलाई स्मरण गर्दै संस्थापक आलेले समयको गतिसंगै शिक्षालाई आधुनिकीकरण एबं बैज्ञानिक र ब्यबहारिक गराउन नवीनतम् शैक्षिक विधिहरु बिद्यालयले अंगीकार गर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका शैक्षिक परामर्शदाता ढुन्डीराज गिरीले विद्यालयको शैक्षिक कार्यपत्र पेश गरेको कार्यक्रमको समापन समारोहमा ५ सय बढी अतिथी, अभिभावक एवं बिद्यालय परिवारले कार्यक्रममा सहभागिता जनाएको विद्यालयले जनाएको छ ।विद्यालयका प्रिन्सिपल साधना थापाको स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा विद्यार्थीहरूले नेपाली कला र संस्कृति झल्किने विभिन्न लोक नृत्यहरु प्रस्तुत गरेका थिए भने चर्चित गायिका टिका पुनको बेजोड सांगीतिक प्रस्तुती रहेको थियो ।











