बाँके: बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२, चप्परगौडीमा जैविक पार्क निर्माण कार्य अगाडि बढिरहेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकाल को पहलमा सुरु गरिएको उक्त परियोजनाले स्थानीय तहमा वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
केन्द्रीय सांसद रहँदै उनले यस क्षेत्रमा जैविक पार्क निर्माणका लागि विशेष पहल गरेका थिए। हाल पार्कको मुख्य प्रवेशद्वार (गेट) निर्माण सम्पन्न भइसकेको छ भने पार्क वरिपरि तारबारसमेत गरिएको छ। अन्य संरचनागत कार्यहरू पनि चरणबद्ध रूपमा अघि बढाइँदैछ।

निर्माणाधीन जैविक पार्कले स्थानीय बासिन्दालाई स्वच्छ र हरियाली वातावरणमा समय बिताउने अवसर प्रदान गर्नेछ। बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि घुमफिर तथा विश्राम स्थलको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै पार्क क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण, पदमार्ग निर्माण तथा आवश्यक पूर्वाधार व्यवस्थापन गर्ने योजना रहेको जनाइएको छ।
स्थानीयवासीहरूले यस पहललाई सकारात्मक रूपमा लिँदै जैविक पार्क निर्माणले आन्तरिक पर्यटन प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम तथा रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।











