बाँके क्षेत्र नं २ राप्रपालाई आफ्नो बिरासत जोगाउन सकस – Buletnews
बाँके क्षेत्र नं २ राप्रपालाई आफ्नो बिरासत जोगाउन सकस
  • बुलेट न्युज

बाँके:बाँके निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि राप्रपाले जितेको क्षेत्र जोगाउन उसलाई कुनै सहज छैन । २०७९ को निर्वाचनमा एमालेसँगको गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार डाक्टर धवलशमशेर राणा विजयी भएका थिए ।

तर यो पटक आफू पनि मैदानमा छैनन् भने बलियो प्रतिस्पर्धामा पनि राप्रपाको नाम अघिल्लो सूचीमा स्थानीयले लिएका छैनन् । राप्रपाले युवा नेता ऋषिराज देवकोटालाई उम्मेदवार बनाए पनि जित्नका लागि माहौल नबनेको आङ्कलन स्थानीयले गरेका छन् ।

एमालेको साथमा २०७९ मा धवल शमशेरले २९ हजार ५ सय ७७ मत ल्याएर विजयी हुँदा समानुपातिकतर्फ भने ११ हजार ३ सय ८० मत मात्र आएको थियो । त्यसो त सो क्षेत्रमा राणाको व्यक्तिगत प्रभाव र एमालेको साथले नै धेरै मत आएको तथ्याङ्कले देखाउँछ ।

अहिले ०७९ कै मुख्य प्रतिस्पर्धी रहेका मोहम्मद इस्तियाक राई मैदानमा छन् । जनता समाजवादी पार्टीबाट त्यो समयमा उम्मेदवार रहेका प्रभावशाली युवा नेता मोहम्मद इस्तियाक राई यस पटक एमालेको चुनाव चिन्ह लिएर मैदानमा पुगेका छन् । धवल शमशेरसँग उनी २३ हजार ५ सय २० मत लिएर मुख्य प्रतिस्पर्धी बनेका थिए ।

राई त्यसअघि २०७४ मा सङ्घीय समाजवादी फोरमबाट सोही क्षेत्रमा विजय भएका नेता हुन् । स्थानीयसँग बलियो पहुँच बनाएका राई अहिले एमालेको सङ्गठनात्मक शक्ति र आफ्नो व्यक्तिगत प्रभावलाई जोड्दै पुनः मतदाताको विश्वास जित्ने दाबी गरेका छन् ।

जसपा नेपाल छाडेर छुट्टै पार्टी गठन गरेका उनलाई एमालेसँग जोडिएपछि स्थानीयले साथ दिन्छन् या दिँदैनन् भन्ने निर्वाचनको नतिजाले प्रस्ट पार्नेछ । बाँकेका अगुवा पत्रकार रुद्र सुवेदी अहिलेसम्मको अवस्थालाई हेर्दा राईलाई सहज देखिएको बताउँछन् ।

यो क्षेत्रबाट उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट कमरुद्धिन राई नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखबाट राजीनामा दिएर उम्मेदवार बनेकाले इस्तियाकलाई पुरानो वर्चस्व जोगाउन भने चुनौती छ । २०७९ मा जसपा नेपालले समानुपातिकतर्फ २० हजार २ सय ५१ मत प्राप्त गरे पनि त्यसपछि पार्टी विभाजन भएको हो ।

यो क्षेत्रमा बलियो पार्टी संरचना भएको र मुख्य प्रतिस्पर्धी मानिएको नेपाली काँग्रेसले नयाँ उम्मेदवारलाई मैदानमा पठाएको छ । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजनीतिक विरासत रहेको यो क्षेत्रमा सो पार्टीको जिल्ला सचिव रहेका सुधांशु कोइरालालाई मैदानमा छन् ।

२०७९ को निर्वाचनमा काँग्रेस उम्मेदवार सुदीप नरसिंह राणा उम्मेदवार रहेका थिए । सुधांशुको प्रभाव राम्रो रहेको कांग्रेस कार्यकर्ताको भनाइ छ । स्थानीय तहको मतको आधारमा यहाँ कांग्रेसका राणा बलियो देखिन्छ । नेकपाले युवा उद्यमी दीपेन्द्र विष्ट उम्मेदवार बनाएको छ । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उनले युवा वर्गको ऊर्जा र परिवर्तनको आकाङ्कलाई राजनीतिक अभियानमा जोड्ने दाबी गरिरहेका छन् ।

सबै क्षेत्रमा चर्चामा रहेको रास्वपाबाट विवेककुमार श्रेष्ठ चुनावी मैदानमा छन् । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ राम्रो मत पाएको रास्वपाले प्रत्यक्षतर्फ प्रतिस्पर्धामा आउन सकेन । पछिल्लो समय देशभर बढेको रास्वपाको प्रभाव र नयाँ पुस्ताको समर्थनले श्रेष्ठलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको स्थानीयको आङ्कलन छ ।

रास्वपा र कांग्रेसले भने यहाँ कांग्रेस–रास्वपाबीच नै द्विपक्षीय प्रतिस्पर्धा हुने विश्लेषण गरेका छन् । उनीहरुको विश्लेषणमा २०६४ र २०७४ मा विजयी तथा ०७९ मा मुख्य प्रतिस्पर्धी पूर्वमन्त्री इस्तियाक राई यस पटक तेस्रो स्थानमा पुग्ने दाबी गरेका छन् । यो क्षेत्रको प्रतिस्पर्धा पुराना दलको विरासत जोगाउने चुनौती, नयाँ नेतृत्व स्थापित गर्ने आकांक्षा र मतदाताको भरोसाले बढी रोचक रहेको स्थानीयको भनाइ छ ।

पुराना दलहरू आफ्नै मत जोगाउने दौडमा रहेकाले यसको प्रत्यक्ष लाभ रास्वपालाई पुग्ने दावी रास्वपाको छ । सो क्षेत्रमा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार कृष्ण अधिकारीको विश्लेषण अनुसार बाँके २ मा पहिलो प्रतिस्पर्धामा एमाले–कांग्रेस नै अहिलेसम्मको अवस्थामा देखिएको त्यससँगै रास्वपा तेस्रो तथा राप्रपा–नेकपा–जसपा त्यसपछिको आंकडामा देखिएका छन् । तर निर्वाचन नजिकिएसँगै बढी प्रतिस्पर्धामा रहेका दलले स्वतन्त्र मतादातालाई आफ्नो पक्षमा राख् नसके उही अगाडि आउने उनको बुझाई छ ।

२० जना उम्मेदवार रहेको यो क्षेत्रमा तीन जना स्वतन्त्र छन् । बाँकेको मुख्य पालिका नेपालगन्ज तथा र सुदूरपश्चिम र कर्णाली क्षेत्रको केन्द्र रहेकाले यही क्षेत्रमा रहेका पनि बढी चासो हुने गर्दछ । नेपालगन्जसँगै डुडुवा गाउँपालिका र २३ वटा वडा रहेको नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडा बाहेकका २१ वटा वडा क्षेत्र नं २ मा पर्छन् । ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कुल १ लाख ८ हजार २९० मतदाता यस क्षेत्रमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्