उनले आगोको सानो झिल्कोले वन सखाप पारे जस्तै हाम्रा बोली, बचन र व्यवहारको सानो रुपले ठूलो रुप लिन सक्छ भन्ने कुरामा सचेत हुन जरुरी रहेको उल्लेख गरे । हरेक बोली र आचरणलाई होसियारिपूर्वक लिनुपर्नेमा जोड दिँदै मुख्य निर्वाचन अधिकृत दाहालले मतदान केन्द्रमा आउने अशक्त, धेरैबेर उभिन नसक्ने मतदाताका लागि स्थानीय तहको सहयोगमा टेन्टको व्यवस्थापन गर्न आग्रह गरे ।
“आचरण र अनुशासनलाई नियन्त्रणमा राख्ने जिम्मा यहाँहरुको हातमा छ”, उनले भने । आचरणको विषय निर्वाचन कसुरसँग जोडिएको जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत दाहालले विभागीय कारबाहीसँगै निर्वाचन कसुरमा कारबाही हुने चेतावनी दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतले निर्वाचन आचारसंहिता पालना गरेको वा नगरेको भन्ने विषयमा निगरानीमा रहेको बताए ।
उनले मतदातामध्ये अनुपस्थित मतदाताको पनि मतदान गर्ने चेष्टा हुनसक्ने भएकाले त्यसमा सर्तकता अपनाउन आग्रह गर्दै निर्वाचनको कार्यविधि अनुसार कडाइ गर्न निर्देशन दिए । “मतदातामध्ये अनुपस्थित मतदाताको मतदान भयो भने भयावह अवस्था हुनसक्छ” प्रमुख जिल्ला अधिकारी तामाङ्ले भने । बाँकेको सुरक्षा संवेदनशीललाई ध्यान दिएर सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै उनले मतदानस्थलमा मतदानको वातावरण निर्माण गर्न स्थानीय तहको वडा कार्यालयबाट प्राप्त हुने स्रोतसाधनको सदुपयोग गर्न आग्रह गरे ।
तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा ४०३ मतदान केन्द्र रहेका छन् । यी मतदान केन्द्रमा ८०० मतदान अधिकृत तथा सहायक मतदान अधिकृत परिचालन हुने जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । यही फागुन १४ गतेसम्म हुने प्रशिक्षणमा १६० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सहभागी छन् । सो प्रशिक्षण चरण चरणमा हुने र नमूना मतदान अभ्याससमेत हुने निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।











