बाँके: दलको साङ्गठनिक आधारमा बाँकेको क्षेत्र नं ३ मा अहिले पनि नेपाली कांग्रेस बलियो मानिन्छ भने स्थानीय युवा उम्मेदवारको हिसाबले नेकपा एमालेका सुमन मल्ल बलियो उम्मेदवार हुन् तर सामाजिक सञ्जालमार्फत गरिएको चर्चामा रास्वपाका उम्मेदवार खगेन्द्र सुनारको पनि उस्तै प्रभाव देखिएका छन् ।
उम्मेदवारी दिएका अधिकांश दलहरूले यो क्षेत्रलाई आफूले जित्ने दाबी गरे पनि अहिले यो क्षेत्र कांग्रेस–एमाले–रास्वपाले जित्ने क्षेत्रको पहिलो सूचिमा राखेकाले पनि बढी चर्चामा आएको छ । बाँके ३ मा कांग्रेस, एमाले, रास्वपासँगै नेकपा, जसपालगायतका दलहरूले उम्मेदवारी दिए पनि उनीहरूले आफ्नो पार्टीको मतको सुरक्षाका लागि मात्रै उम्मेदवारी दिएको स्वीकार गरेका छन् ।
यो क्षेत्रका लागि सबै अनुहार नयाँ हुन् तर कांग्रेसका प्रदेश सभापति रहेका अमर सिंह पुन पूर्व राज्यमन्त्री भइसकेका अनुभवी हुन् । उनीबाहेक सबै दलबाट अधिकांश नयाँ अनुहार चुनावी मैदानमा छन् ।
उम्मेदवारहरूले विकास, सुशासन, रोजगारी सिर्जना र पूर्वाधार निर्माणजस्ता मुद्दालाई प्राथमिकतामा राख्दै घरदैलो कार्यक्रममार्फत मतदातासँग पुगिरहेका छन् भने केही नयाँ दलहरूले पुराना दलहरूले अहिलेसम्म गरेका कमजोरीलाई सुधार्न आफूहरू मैदानमा आएको भन्दै मत तान्ने प्रयासमा छन् ।
प्रमुख राजनीतिक दलबाट उम्मेदवारी दिएका केही अनुभवी नेताबाहेक अधिकांश उम्मेदवार नयाँ अनुहारका रूपमा चुनावी मैदानमा उत्रिएकाले चुनावमा नयाँ ऊर्जा देखिए पनि धेरै एजेन्डा पुरानै छन् ।
कांग्रेसबाट उम्मेदवार बनेका अमरसिंह पुन, एमालेबाट उम्मेदवार बनेका सुमन मल्ल, रास्वपाबाट उम्मेदवार बनेका खगेन्द्र सुनार, नेकपाबाट उम्मेदवार बनेका दिपक जिएमसहित अधिकांश उम्मेदवारहरूले एक चरणको मुख्य भेटघाट सकाएर आफ्ना प्रतिबद्धतासहित घरदैलो सुरुवात गरिसकेका छन् ।
उम्मेदवारहरूले पूर्वाधार विकास, कृषि आधुनिकीकरण र सामाजिक सेवाको विस्तारलाई मुख्य प्राथमिकताका रूपमा अघि सार्दै अधुरा रहेका विकास योजनालाई पूर्णता दिने, रोजगारी सिर्जना गर्ने तथा क्षेत्रीय विकासलाई गति दिने प्रतिबद्धता गरेका छन् । एक लाख १७ हजार ३५४ मतदाता रहेको यो क्षेत्रमा २२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
शुक्रबार मात्रै सो क्षेत्रको विभिन्न स्थानमा घुमेर फर्केका राससका पत्रकार युवराज पाण्डेले यहाँ मुख्य गरी एमाले–कांग्रेसबीच नै बलियो प्रतिस्पर्धा रहेको र रास्वपाले पनि आफ्नो सबै क्षेत्रमा बलियो उपस्थिति देखाएको पाएको जानकारी दिए । अहिलेको अवस्थामा बाहिर भएका चर्चा र भित्री चाहना फरक हुन सक्छन्, यो क्षेत्रमा एमाले–कांग्रेसबीच नै आजको स्थितिमा बलियो प्रतिस्पर्धा छ, रास्वपा रोज्नेहरू पनि उस्तै छन्, निर्वाचनको मिति नजिकिँदै जाँदा यसको अवस्था कस्तो हुँदै जाने हो टुङ्गो छैन’ उनले भने ।
स्थानीयका अनुसार दलका प्रतिबद्ध र केही उनीहरूसँग असन्तुष्टबाहेक धेरै मतदाताले अहिले पनि खुलेर भनेका छैनन् । यसले पनि चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको देखिन्छ ।
सो क्षेत्रमा पार्टीको बलियो आधार भएको र बाँकेसँग स्व सुशील कोइरालाकै समयदेखि बलियो सम्बन्ध भएकाले सहज जित आफ्नो पक्षमा आउने दाबी कांग्रेस उम्मेदवार अमरसिंह पुन बताउँछन् । ‘यसै पनि कांग्रेसको बलियो संगठन छ, अहिले पार्टीमा नयाँ नेतृत्व आएपछि कांग्रेस सुधार भएर आएको सन्देश आम कार्यकर्तामा गएको छ, बाँकेमा म सुशील कोइरालाको पालादेखि जोडिएर आएको छु, त्यसैले आम मतदातामा कुनै समस्या छैन’ पुनले भनेका छन् ।
एमालेका युवा नेता सुमन मल्लले पार्टीको बलियो आधार र युवा पुस्ताको प्रतिनिधित्वसमेत हुने गरी आफ्नो उम्मेदवारीसँगै जितका लागि सहज बनेको बताएका छन् । एमालेका नेता रहेका पत्रकार गोविन्द शर्मा मल्ल स्थानीय क्षमता भएको युवा भएकाले र पार्टीको बलियो क्षेत्र भएकाले जितका लागि सहज भएको बताउँदै अरू प्रतिस्पर्धी दलका उम्मेदवार बाहिरका भएकाले स्थानीयको रोजाईमा पर्ने जनाएका छन् ।
मल्ल स्थानीय मात्रै नभएर ठकुरी परिवारको भएको र सो क्षेत्रमा त्यो समुदायका मत उल्लेख्य भएकाले थप सहजता हुनसक्ने एमालेका शुभेच्छुकहरूको आङ्कलन छ ।
रास्वपाका खगेन्द्र सुनार पनि उस्तै चर्चाका उम्मेदवार हुन् । उनका निकटस्थहरू स्थानीय मुद्दालाई केन्द्रमा सहजै उठाउन सक्ने भएकाले रोजाईमा पर्न सक्ने आङ्कलन छ ।
दलित समुदायको उल्लेख्य मत रहेकाले उनलाई सहज हुने अर्को आधार भएको उनका प्रशंसक बताउँछन् तर गाईको मासु काटेर अरू मासुसरह खान पाउनुपर्ने भन्ने उनको पुरानो भिडियो प्रतिस्पर्धी दलले भाइरल बनाए पनि उनी केही आलोचित भए पनि यसलाई चिर्ने प्रयास गरेका छन् । तर ०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा धेरै कम मत आएकाले अहिले कसको कति मत तानेर जित्ने भन्ने चुनौती उनीसँग आइपरेको छ ।
यहाँबाट नेकपाका दीपक गौलीमगर उम्मेदवार रहेका छन् तर यसअघिको मतभारका कारण उनको खासै चर्चा भएको छैन ।यो क्षेत्रमा २०७९ मा काँग्रेसका निवर्तमान सहमहामन्त्री किशोर सिंह राठौरले जितेका थिए । एमाले यहाँ उपविजेता बनेको थियो । राठौरले २९ हजार ४० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी रहेका एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरेका थिए ।
यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ७ हजार ४ सय ३९ मत प्राप्त गरेका थिए भने जनता समाजवादी पार्टी जसपाका नोयन्द्र धितालले ४ हजार २ सय ८७ मत ल्याएका थिए । क्षेत्र नम्बर ३ मा काँग्रेस विरासत जोगाउन लागिपरेको छ भने एमाले त्यसअघिको जित फर्काउने प्रयासमा रहँदा रास्वपा जित दर्ताको रणनीतिमा छ ।
काँग्रेसका पुन लुम्बिनी प्रदेशका पार्टी सभापति तथा पूर्व राज्यमन्त्री हुन् । उनको स्थायी घर रोल्पा हो । मुख्यमन्त्री बन्ने घोषणासहित ०७९ मा तत्कालीन माओवादीसमेतको गठबन्धनबाट उनी प्रदेश सभा सदस्यमा रोल्पाबाट उठेर पराजित भएका थिए ।
एमालेका मल्ल गत स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भई पराजित भएका थिए । सुनार दैलेखका हुन् । बाँके ३ मा नेपालगञ्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडा, जानकी गाउँपालिकाका सबै ६ वटा वडा, खजुरा गाउँपालिका सबै ८ वडा र बैजनाथ गाउँपालिकाका सबै ८ वडा गरी २४ वडा समेटिएको छ ।
विश्लेषक प्रकाश उपाध्यायका अनुसार क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिए पनि कांग्रेस एमालेको बलियो साङ्गठनिक आधार रहेका छ । ‘रास्वपा नयाँ फोर्स भएर आएको छ, हिजोको मधेसवादी दल र राप्रपा कमजोर भएको छ । ३ नं मा दलित क्लष्टर करिब १५ हजार हाराहारीमा छ त्यसका लागि रास्वपालाई सहज हुनसक्छ’ उनले भने । उनका अनुसार कांग्रेसका पुनबाहेक अरू ५० वर्ष भित्रैका उम्मेदवार रहेका र एमालेमा सुमन मल्लले आफू स्थानीय भएकाले सोही नारालाई अगाडि सारेका छन् ।
यो क्षेत्रमा ४८ मा कांग्रेसका कृष्णसिंह परियारले जितेका थिए भने एमाले दलबहादुर सुनारले ०७० मा प्रत्यक्ष जितेका थिए । ०७४ मा एमालेका नन्दलाल रोकायले जितेका थिए भने ०७९ मा माओवादीसहितको ५ दलको गठबन्धनबाट कांग्रेसका किशोरसिंह राठौरले जितेका थिए ।
यस्तो छ ०७९ को समानुपातिक मत परिणाम
नेपाली कांग्रेस १९,८६७, नेकपा एमाले १८,३४९ नागरिक उन्मुक्ति पार्टी ६,७६५ राष्ट्रिय स्वतन्त्र पार्टी ६,४७३ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ५,९०१ जनता समाजवादी पार्टी, नेपाल ४,४४६ राष्ट्रिय प्रजातन्त्र पार्टी २,७९६ जनमत पार्टी २,१६७ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी ९१९ मत पाएका थिए ।











