कोहलपुर,बाँके: उत्साह, ऊर्जा र प्रतिस्पर्धाको रोमाञ्चक संगम बनेको ‘प्रथम बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८२’ को उपाधि ब्राइटलाइट एकेडेमी कोहलपुरले चुमेको छ। घरेलु मैदानमा दर्शकको साथ र आत्मविश्वासको बलमा ब्राइटलाइटले फाइनलमा बैजनाथ गाउँपालिकालाई पराजित गर्दै विजयी झण्डा फहराएको हो।

फाइनल खेलमा ब्राइटलाइटले आफ्नो दबदबा कायम राख्दै सोझो दुई सेटमा जित निकालेको थियो। पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै लय समातेको टोलीले दोस्रो सेटमा झनै सशक्त प्रदर्शन गर्दै २५–१८ को जित दर्ता गर्यो। लगातार दुई सेट गुमाएपछि बैजनाथ गाउँपालिका उपविजेतामै सीमित रह्यो। प्रतियोगितामा रोयल ढकेरी तृतीय स्थानमा रह्यो।
विजेता ब्राइटलाइट एकेडेमीले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता बैजनाथ गाउँपालिकाले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तृतीय रोयल ढकेरीले २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ।

खेलमा यसपटक व्यक्तिगत विधातर्फ पनि खेलाडीहरूले उत्कृष्टता देखाएका छन । यसरी ब्यक्त्तिगत बिधामा सफलता प्राप्त गर्नेहरुमा सर्वोत्कृष्ट खेलाडी: गंगाराम शर्मा (ब्राइटलाइट एकेडेमी कोहलपुर)
उत्कृष्ट स्पाइकर: योन्जन परियार (बैजनाथ गाउँपालिका) उत्कृष्ट सेटर: कृष्णबहादुर गुरुङ (ब्राइटलाइट एकेडेमी) उत्कृष्ट ब्लकर: पूर्णबहादुर विक (रोयल एकेडेमी) उत्कृष्ट सर्वर: रोशन शाही (ब्राइटलाइट एकेडेमी ) र उत्कृष्ट लिवेरो: राजकुमार बम (ग्रिन पिस)
विजेता टोलीहरूलाई कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्री तथा इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी चक्र डम्बर पालले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए।

प्रतिस्पर्धाको मैदानमा पसिनासँगै बगेको समर्पण र संघर्षले ब्राईटलाईटले कोहलपुरको खेलकुद इतिहासमा नयाँ अध्याय थपेको छ। ब्राइटलाइटको यो जित केवल उपाधि मात्र होइन—आत्मविश्वास, अनुशासन र टिमवर्कको उज्यालो सन्देश थपेको बिद्यालयले जनाएको छ ।











