बाँके: बाँकेको कोहलपुरलाई क्रिकेटका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पहिलो पटक यहाँ ‘कोहलपुर प्राइड लिग’ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ।
फागुन २८ गतेदेखि चैत ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको कोहलपुर स्पोट्र्स एकेडेमीका सञ्चालक तथा प्रतियोगिता संयोजक विनायक गिरीले बताए ।
उनले कोहलपुरमा पहिलो पटक राष्ट्रिय स्तरको टी–२० प्रतियोगिता आयोजना हुन लागेकोले स्थानीय खेलाडी र खेलप्रेमी उत्साहित बनेको उल्लेख गर्दै यसबाट क्रिकेटको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
संयोजक गिरीका अनुसार प्रतियोगितामा देशका शीर्षस्तरका ६ वटा टोलीको सहभागिता रहनेछ। प्रत्येक टोलीमा कम्तीमा तीन जना राष्ट्रियस्तरका खेलाडी अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
उनले प्रतियोगिताका सबै खेलको प्रत्यक्ष प्रसारण (लाइभ) गरिने तथा उच्चस्तरीय व्यवस्थापनको तयारी भइरहेको जानकारी दिंदै भने।
प्रतियोगिताका लागि हालै आधिकारिक ‘क्याम्पा’ ब्रान्डको लोगो सार्वजनिक गरिएको छ। कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले लोगो सार्वजनिक गर्दै कोहलपुरमा पहिलो पटक राष्ट्रिय स्तरको टी–२० प्रतियोगिता हुन लागेकोमा खुशी व्यक्त गरे ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले कोहलपुरको क्रिकेट विकास गर्न तथा खेलकुदमार्फत कोहलपुरलाई चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले यस्ता प्रतियोगिताले खेलको विकाससँगै नयाँ प्रतिभा पहिचान गर्न सहयोग पुग्ने बताए।
कोहलपुर प्राइड लिग राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता कोहलपुर–११ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।











