बाँके: भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले जिल्लाभर लालपुर्जा वितरण, पुर्जा तयारी तथा नापजाँच कार्यलाई द्रुत गतिमा अघि बढाएको जनाएको छ। आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले लालपुर्जा वितरण कुनै राजनीतिक एजेण्डा नभई आयोगको नियमित जिम्मेवारी भएको स्पष्ट पारेका छन्।
उनका अनुसार यही २३ गतेभित्र करिब १३०० लालपुर्जा वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। केही राजनीतिक दलका उम्मेदवारहरूले आफूहरूले नै जग्गा नापजाँच गरेको दाबी गरिरहेका विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष खनालले आचारसंहिता लागू भएको समयमा त्यस्ता गतिविधि उपयुक्त नहुने टिप्पणी गरे। “निर्वाचन आयोगसँग समन्वय गरेर कार्यविधि अनुसार कर्मचारी खटाई नापजाँच भइरहेको छ,” उनले भने।
हाल बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा नापजाँच कार्य जारी रहेको आयोगले जनाएको छ। जिल्लाका सबै स्थानीय तहमा नापजाँच प्रक्रिया सञ्चालनमा रहेको र कोहलपुर नगरपालिकामा भने नापजाँच कार्य सम्पन्न भइसकेको जानकारी दिइएको छ।
आयोगका अनुसार कोहलपुर नगरपालिका वडा नं. १ मा ६३५ जनालाई लालपुर्जा वितरण भइसकेको छ भने १,३३० जनाको नामावली सार्वजनिक गरिएको छ। सोही वडाका १०० भूमिहीन सुकुम्बासीले पनि लालपुर्जा प्राप्त गरेका छन्।
पुर्जा तयारीको चरणमा बैजनाथ गाउँपालिका वडा नं. ६ मा २१ र वडा नं. ८ मा ६१, राप्तीसोनारी गाउँपालिका वडा नं. ४ मा ६६८ तथा कोहलपुर नगरपालिका वडा नं. १ मा ६५१ वटा पुर्जा तयार अवस्थामा रहेका छन्। त्यसैगरी सूचना प्रकाशनको तयारीतर्फ बैजनाथ गाउँपालिका वडा नं. ६ मा ३५१, खजुरा गाउँपालिका वडा नं. ४ र ५ मा ४०४ तथा कोहलपुर नगरपालिका वडा नं. ३ मा ६३४ जनाको विवरण तयार गरिएको आयोगले जनाएको छ।
अध्यक्ष खनालले आयोगको काम पूर्णतः कानुनी प्रक्रिया र कार्यविधिमा आधारित रहेको दोहोर्याउँदै राजनीतिक प्रभावबाट स्वतन्त्र रूपमा काम भइरहेको दाबी गरे। “यो आयोगको नियमित दायित्व हो, चुनावसँग यसको कुनै सम्बन्ध छैन,” उनले भने।
उनले विभिन्न दलका उम्मेदवारहरूलाई अनावश्यक भ्रम नफैलाउन आग्रह गर्दै निर्धारित प्रक्रिया अनुसार नै काम भइरहेको स्पष्ट पारे। साथै, २३ गतेभित्र निर्धारित संख्यामा लालपुर्जा वितरण सम्पन्न गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।











