भारतवाट फर्किनेको नेपालगञ्ज – जमुनाहामा लर्को – Buletnews
भारतवाट फर्किनेको नेपालगञ्ज – जमुनाहामा लर्को

स्वदेश फर्किने व्यक्तिको सहज आवागमनका लागि आवश्यक समन्वय र व्यवस्थापन

  • बुलेट न्युज

 बाँके:प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली मताधिकार प्रयोग गर्न स्वदेश फर्कने क्रम बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका नेपाली अहिले ठुलो सङ्ख्यामा बाँकेको जमुनाह नाका हुँदै नेपाल भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

अहिले नेपालबाट भारततर्फ जानेभन्दा भारतबाट नेपाल फर्किने नेपालीको सङ्ख्या बढेको जानकारी इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक किरण मल्लले जानकारी दिंदै भने  । उनले निर्वाचनमा सहभागिता जनाउनकै लागि अहिले यो नाका भएर स्वदेश फर्किने नेपालीको सङ्ख्या बढ्दै गएको बताए । उनका अनुसार अहिले दैनिक पाँच सयदेखि हजारको सङ्ख्यामा नेपाली फर्किरहेका छन् ।

स्वदेश फर्किने व्यक्तिको सहज आवागमनका लागि आवश्यक समन्वय र व्यवस्थापन गरिएको बताउनुभयो । नाकामा भेटिएका अधिकांश नेपालीले निर्वाचनमा मतदान गर्न स्वदेश फर्किएको बताएका छन् । स्वदेश फर्किएका दैलेख नौमुलेका नरेश थापाले मतदानका लागि बिदा लिएर फर्किएको जनाउँदै देशलाई सक्षम, इमानदार तथा जनताका पक्षमा काम गर्ने नेतृत्व आवश्यक रहेको बताए । उनले भने, “देशमै रोजगारी सिर्जना गर्ने र युवालाई बिदेसिनु नपर्ने वातावरण बनाउने नेतृत्व चाहिन्छ, हामी सबैको जोड यसैमा छ ।” सुर्खेत छिन्चुका सुरेश खड्काले आफ्नो क्षेत्रका युवाका लागि केही गर्न सक्ने उम्मेदवार जिताउने आशा लिएर यस पटक फर्किएको बताए ।

जाजरकोट ढिमे घर भएका भीमबहादुर सिंह पनि आफ्ना छ जना साथीसँगै स्वदेश फर्किएका छन । कामका लागि भारतको हिमाचल प्रदेशको रामपुर पुगेका उनले पनि निर्वाचनमा मतदान गर्न नेपाल फर्किएको बताए । सिंहले भने, “अब निर्वाचन परिवर्तन र देश बनाउनका लागि हुनु पर्छ, भ्रष्टाचार र ढिलासुस्तीलाई अब छुट दिनुहुँदैन । मतदान गर्दा पनि यी कुरालाई ध्यान दिनै पर्छ ।” जमुनाह नाकामा भेटिएका भारतबाट फर्किएका अधिकांश नेपालीले नेपालीलाई स्वदेशमै गरिखाने वातावरण बनाउने र कसैलाई काखा कसैलाई पाखा नगर्ने उम्मेदवार तथा दललाई जिताउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्