बाँके: बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आइतबार व्यापक शक्ति प्रदर्शनसहित विशाल र्याली आयोजना गरेको छ। पार्टीका स्थानीय नेता विश्वराज खनालको नेतृत्वमा सम्पन्न उक्त र्याली आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निकालिएको बताइएको छ।
र्याली मुख्य उद्देश्य सूर्य ढकाल लाई बाँके क्षेत्र नम्बर १ बाट विजयी गराउने अभियानलाई थप सशक्त बनाउनु रहेको आयोजक पक्षले जनाएको छ। कार्यक्रममा बोल्दै खनालले पार्टीको संगठनात्मक मजबुती र जनसमर्थन बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।

र्याली ढकेरी चोकबाट सुरु भई महादेवा, बुचापुर, गुर्रागाउँ, कौवाकाडा, पेट्रोल पम्प क्षेत्र हुँदै पुनः ढकेरी चोकमा पुगेर समापन गरिएको थियो। स्थानीय बासिन्दा, युवा तथा पार्टी समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा करिब १५० जना कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको जानकारी दिइएको छ। सहभागीहरूले पार्टीका झण्डा, ब्यानर तथा चुनावी नारा लगाउँदै गाउँ–गाउँमा घरदैलो अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमका वक्ताहरूले वर्तमान राजनीतिक परिवेशमा स्थिर सरकार, विकास निर्माण र समृद्धिका लागि एमाले नेतृत्व आवश्यक रहेको धारणा राखे। उनीहरूले बाँके क्षेत्र नम्बर १ मा विगतका विकास योजनाहरूलाई निरन्तरता दिन तथा नयाँ पूर्वाधार निर्माणका पहलहरू अघि बढाउन सूर्य ढकाल सक्षम र अनुभवी उम्मेदवार रहेको दाबी गरे।
र्यालीले ढकेरी क्षेत्रको राजनीतिक माहोल तताएको स्थानीयले बताएका छन्। आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलहरूले आ–आफ्ना उम्मेदवारको पक्षमा चुनावी गतिविधि तीव्र पारिरहेका बेला एमालेको यो शक्ति प्रदर्शनलाई महत्वका साथ हेरिएको छ।











