दाङ: दाङमा बाँके राष्ट्रिय निकुञ्जका प्रभावित स्थानीयले मतदान बहिष्कार गरेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बबई गाउँपालिकाका दुई मतदान केन्द्रमा समाचार तयार पार्दासम्म एक जनाले पनि मतदान गरेका छैनन्।
बबई गाउँपालिका–७ स्थित देउती माध्यमिक विद्यालय मलई मतदान केन्द्रमा साढे १० बजेसम्म कुनै पनि मतदाता मतदान गर्न नआएको मतदान अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिए। उनका अनुसार उक्त केन्द्रमा ६८२ जना मतदाता रहेका छन्।
त्यस्तै बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि अहिलेसम्म मतदाता उपस्थित नभएको जनाइएको छ। सो केन्द्रमा ५३० जना मतदाता रहेका छन्।
निकुञ्ज प्रभावित संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुरले राङु मगरले आफूहरूले यसअघि नै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताएका छन्। ‘हाम्रो माग सम्बोधन नभए मतदान नगर्ने घोषणा गरेका थियौँ,’ उनले भने, ‘तर हाम्रो कुरा सुनुवाइ भएन। त्यसैले गाउँले सबैले सल्लाह गरेर मतदान नगर्ने निर्णय गरेका छौँ।’
लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आन्दोलन गर्दै आएका स्थानीयले चुनाव बहिष्कार गर्ने चेतावनी दिँदै आएका थिए।
दाङका साविकका पञ्चकुले र पुरन्धारा गाविसका केही भू–भागलाई मध्यवर्ती क्षेत्रका रूपमा घोषणा गरिएपछि सो क्षेत्रमा वन्यजन्तुको संख्या बढेको र त्यसका कारण आफूहरू प्रभावित भएको स्थानीयको भनाइ छ।
स्थानीय सञ्चारकर्मी प्रेम पुनका अनुसार वन्यजन्तु, विशेषगरी वन्यजन्तु बाघको आतंक समेत बढेको छ। वन्यजन्तुले बालीनाली तथा घरपालुवा पशुपन्छी नष्ट गर्ने समस्या लामो समयदेखि भोग्दै आएको उनले बताए।
यो दाङ क्षेत्र नम्बर ३ मा पर्छ । यहाँबाट कांग्रेसबाट दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे, नेकपाबाट धनबहादुर मास्की, रास्वपाबाट कमलसुवेदीलगायत उम्मेदवार छन् ।











