कोहलपुर, बाँके: ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता रोमाञ्चक खेलसँग सुरु भएको छ ।प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोट्र्स एकेडेमीले शानदार जित निकाल्दै विजयी सुरुवात गरेका छन् ।
कोहलपुर–११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको पहिलो खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटल्याण्ड स्कुललाई पराजित गर्दै जित हात पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको युनाइटेड भिजनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।
१ सय ५६ रनको लक्ष्य पछ्याएको ब्राइटल्याण्ड स्कुल भने दबाबमा रहँदै १६.१ ओभरमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । यससँगै युनाइटेड भिजन क्रिकेट क्लबले २२ रनको जित निकाल्यो । युनाइटेड भिजनका सन्तोष यादवले महत्वपूर्ण ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे र ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
पहिलो दिनकै दोस्रो खेलमा कोहलपुर स्पोट्र्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ रोजेको कोहलपुर स्पोट्र्स एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रनको विशाल योगफल खडा गरेको थियो ।
टिमका लागि अर्जुन घर्तीले २७ बलमा ६५ रन र भिम सार्कीले ३७ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । उनीहरूको उत्कृष्ट ब्याटिङका कारण हिमालयन क्रिकेट एकेडेमीलाई १ सय ९८ रनको लक्ष्य प्राप्त भयो ।
तर लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीका ब्याटरहरू टिक्न सकेनन् । कोहलपुर स्पोट्र्स एकेडेमीका बलर सामु निरिह बनेका उनीहरू १६.३ ओभरमा अलआउट हुँदै ७५ रनमै समेटिए । यससँगै हिमालयन क्रिकेट एकेडेमीले १ सय २२ रनको फराकिलो हार व्यहोर्नुपर्यो ।
कोहलपुर स्पोट्र्स एकेडेमीका लागि शिदान्तराज शाहीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनको प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो ।
कोहलपुर स्पोर्टस् एकेडेमीको आयोजना, कोहलपुर नगरपालिकाको संरक्षकत्व तथा बाँके जिल्ला क्रिकेट संघको समन्वयमा सुरु भएको प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टिमले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।











