ढकमक्क फुलेको ढकेरी वनस्पति उद्यान : प्रकृतिसँग रमाउने सुन्दर गन्तव्य – Buletnews
शैक्षिक अध्ययनका लागि महत्वपूर्ण उद्यान
ढकमक्क फुलेको ढकेरी वनस्पति उद्यान : प्रकृतिसँग रमाउने सुन्दर गन्तव्य

फूल, हरियाली र दुर्लभ जडीबुटीको संगम — अध्ययन र अवलोकनका लागि विद्यार्थीको पनि आकर्षण

  • भुवन थापा

बाँके: राप्तीसोनारी गाउँपालिका–९, ढकेरीमा अवस्थित ढकेरी वनस्पति उद्यान यतिबेला प्रकृतिप्रेमीहरूका लागि स्वर्गजस्तै बनेको छ । चारैतिर गाउँले घेरिएको शान्त परिवेश, हरियालीले ढकमक्क ढाकिएको परिसर र रंगीचंगी फूलहरूले सजिएको बगैँचाले यहाँ पुग्ने जो–कोहीलाई मोहनी लगाउने गरेको छ ।

फागुनको सुरुवातसँगै उद्यानको रूप झन् बदलिन्छ । बगैँचाभरि फुलेका रंगीन फूलहरू, हरियालीले भरिएको खुला वातावरण र शान्त प्राकृतिक परिवेशले यहाँ आउने पर्यटकलाई प्रकृतिसँग नजिक बनाइदिन्छ । यही आकर्षणका कारण अहिले दिनहुँ करिब ३०० देखि ४०० जनासम्म आन्तरिक पर्यटक तथा विद्यार्थीहरू उद्यान अवलोकनका लागि आउने गरेका छन् ।

विशेषगरी सार्वजनिक बिदाका दिन भने उद्यानमा पर्यटकहरूको उपस्थिति झन् बाक्लो हुने गरेको छ । ढकेरी वनस्पति उद्यानका अधिकृत रामकृष्ण भण्डारीका अनुसार फूलैफूलले सजिएको उद्यान, स्वच्छ वातावरण र यहाँ पाइने विविध वनस्पतिका कारण पर्यटकहरूको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।

यो उद्यान केवल घुमफिरको गन्तव्य मात्र होइन, वनस्पति अध्ययनका लागि पनि महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ । उद्यानभित्र विभिन्न प्रकारका बहुमूल्य जडीबुटी तथा वनस्पतिका बिरुवाहरूको संरक्षण गरिएको छ, जसलाई अवलोकन र अध्ययन गर्ने व्यवस्था समेत मिलाइएको छ ।

नेपाल सरकारले लोपोन्मुख वनस्पतिहरूको संरक्षण गर्ने उद्देश्यका साथ स्थापना गरेको यस उद्यानमा दुर्लभ तथा संरक्षण आवश्यक रहेका वनस्पतिहरू सुरक्षित रूपमा हुर्काइँदै आएका छन् ।यही कारण बाँके जिल्लाका विद्यालय तथा कलेजका विद्यार्थीहरू मात्र होइन, दाङ, कपिलवस्तु लगायतका जिल्लाबाट पनि विद्यार्थीहरू वनस्पति अध्ययन तथा अवलोकनका लागि यहाँ आउने गरेका छन् ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र शान्त वातावरणले भरिएको ढकेरी वनस्पति उद्यान अहिले आन्तरिक पर्यटन, प्रकृति अवलोकन र शैक्षिक अध्ययनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा पहिचान बनाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्