कोहलपुर,बाँके:‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दुई टोलीको यात्रा प्रारम्भिक चरणमै समाप्त भएको छ । लगातार दुई खेलमा हार बेहोरेपछि एसपीए कलेज धनगढी र हिमालयन क्रिकेट एकेडेमी प्रतियोगिताबाट बाहिरिएका हुन् ।
शनिबार भएको तेस्रो दिनको खेलमा युनाइटेड भिजन क्रिकेट क्लबसँग पराजित भएसँगै एसपीए कलेज धनगढीको प्रतियोगिताको यात्रा टुंगिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको एसपीएले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । टोलीका लागि शंकर बोहराले २९ बलमा ३५ रन, अयुव चन्दले २६ बलमा २८ रन तथा सागर साउदले ३४ बलमा २२ रन योगदान दिएका थिए ।
बलिङतर्फ युनाइटेड भिजनका सन्तोष यादव र दिनेश अधिकारीले समान ३–३ विकेट लिए भने आकाश चन्दले १ विकेट हात पारे ।
१ सय ३५ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजनले १४ ओभरमा ६ विकेट गुमाउँदै सहजै लक्ष्य पूरा गर्दै ४ विकेटले जित दर्ता गर्यो । कप्तान देव खनालले १६ बलमा ३१ रनको आक्रामक पारी खेले भने दिनेश बोहराले अविजित २७ रन बनाए । दिनेश अधिकारीले पनि १७ बलमा २६ रन जोडे ।
एसपीएका लागि आयुव चन्द र निराज ऐरले समान २–२ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका दिनेश अधिकारी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
त्यस्तै दोस्रो खेलमा न्यू होराइजन स्पोर्ट्स क्लबसँग पराजित भएपछि हिमालयन क्रिकेट एकेडेमी पनि प्रतियोगिताबाट बाहिरिएको छ । पहिले ब्याटिङ गरेको न्यू होराइजनले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रनको विशाल स्कोर खडा गर्यो ।
ओपनर आरिफ खानले ४९ बलमा ७८ रन र अमर मिश्रले ३५ बलमा ५९ रनको अर्धशतकीय पारी खेले । दिलसद अलीले अविजित ३० रन थपे । हिमालयनका अनिश धामीले २ विकेट तथा दिनेश विष्टले १ विकेट लिए ।
२ सय २८ रनको लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमी १७.१ ओभरमा अलआउट हुँदै १ सय १६ रनमै समेटियो । खडक बोहोराले ३३ रन, इमरान खानले २६ रन र दिनेश विष्टले २१ रन बनाए ।
न्यू होराइजनका अमर मिश्रले उत्कृष्ट बलिङ गर्दै ३.१ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । निश्चल ज्ञवाली, निर्मल गुरुङ, कुशल मल्ल, बासिर अहमद र सुरज खड्काले समान १–१ विकेट लिए । ब्याटिङमा अर्धशतक र बलिङमा ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका अमर मिश्र ‘प्लेयर अफ द म्याच’ घोषित भए ।











