क्याम्पा’ कोहलपुर प्राइड लिग :फाइनलमा भिड्दै युभिसिसि र न्यू होराइजन – Buletnews
क्याम्पा’ कोहलपुर प्राइड लिग :फाइनलमा भिड्दै युभिसिसि र न्यू होराइजन

कोहलपुर प्राइड लिगको उपाधिका लागि सोमबार बिहान प्रतिस्पर्धा, विजेतालाई ४ लाख नगद

  • बुलेट न्युज

कोहलपुर,बाँके: ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसि) र न्यू होराइजन स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा दुवै टिमले प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

पहिलो सेमिफाइनलमा युभिसिसिले कोहलपुर स्पोर्टस एकेडेमीलाई ७ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोहलपुर स्पोर्टस एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।
टिमका लागि भिम सार्कीले ४२ बलमा सर्वाधिक ७४ रन बनाए भने विपिन रावलले २६ बलमा २० रन र सिद्धार्थराज शाहीले १० बलमा अविजित १४ रन जोडे । अन्य ब्याटरहरू भने दोहोरो अंकमा पुग्न सकेनन् ।

बलिङतर्फ युभिसिसिका आकाश चन्द, दिनेश अधिकारी र सन्तोष यादवले समान ३–३ विकेट लिए भने कमल मुसलमानले १ विकेट लिए ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको युभिसिसिले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७१ रन बनाउँदै सहज जित निकाल्यो । टिमका लागि दिपेन्द्र सिंह ऐरीले ४२ बलमा अविजित ८३ रनको उत्कृष्ट इनिङ्स खेले भने अर्जुन साउदले ४९ बलमा अविजित ६८ रन बनाए । उक्त खेलमा ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यस्तै दोस्रो सेमिफाइनलमा न्यू होराइजन स्पोर्टस् क्लबले ब्राइटल्याण्ड स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । पहिले ब्याटिङ गरेको ब्राइटल्याण्ड १६.५ ओभरमा अलआउट हुँदै १ सय ६ रनमै सीमित भयो ।

ब्राइटल्याण्डका लागि तुल थापाले २२ बलमा सर्वाधिक ४४ रन बनाए भने बिनोद भडारीले १८ बलमा ३० रन र तिर्तराज दाशले १३ रन जोडे ।
बलिङतर्फ न्यू होराइजनका प्रिन्स पालले ४ ओभरमा ९ रन मात्रै खर्चेर ३ विकेट लिए । कुशल मल्ल र सुरज खडकाले समान २–२ विकेट लिए भने बासिर अहमद र एलिसन अधिकारीले १–१ विकेट लिए ।

१ सय ७ रनको लक्ष्य पछ्याएको न्यू होराइजनले ८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । अमर मिश्रले २२ बलमा ५७ रनको आक्रामक अर्धशतक बनाए भने आरिफ खानले २६ रनको योगदान दिए । उक्त खेलमा उत्कृष्ट बलिङ गरेका प्रिन्स पाल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको फाइनल खेल सोमबार बिहान ९ बजे युनाइटेड भिजन क्रिकेट क्लब र न्यू होराइजन स्पोर्टस् क्लबबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

फोटो: सम्पादक संजय मण्डल

प्रतिक्रिया दिनुहोस्