ईदको पुर्वसन्ध्यामा बाँकेका कैदी बन्दीकालागी नयाँ लुगा – Buletnews
ईदको पुर्वसन्ध्यामा बाँकेका कैदी बन्दीकालागी नयाँ लुगा

नेपालगञ्जस्थित ईदगाहमा शनिबार (भोलि) बिहान ८ बजे सामूहिक नमाज अदा गरिने ने

  • बुलेट न्युज

नेपालगञ्ज : मुस्लिम समुदायको महान पर्व ईदुल फित्रको अवसर पारेर मुस्लिम समाज बाँकेले नौबस्ता र नेपालगञ्ज कारागारमा रहेका कैदीबन्दीलाई नयाँ लुगा वितरण गरेको छ।

ईद पर्व शनिबार परेको सन्दर्भमा त्यसको पूर्वसन्ध्यामा नेपालगञ्ज मुस्लिम समाजले कोहलपुरस्थित नौबस्ता कारागार तथा नेपालगञ्ज कारागारमा रोजा बसिरहेका कैदीबन्दीहरूलाई ईदको उपहारस्वरूप कपडा प्रदान गरेको समाजका अध्यक्ष अब्दुल हकीम हल्वाईले जानकारी दिए।

उनका अनुसार नौबस्ता कारागारका ३९ जना र नेपालगञ्ज कारागारका १५ जना गरी कुल ५४ जना कैदीबन्दीलाई ईदका दिन प्रयोग गर्ने गरी नयाँ लुगा वितरण गरिएको हो। समाजका वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष मुन्ना मंसुरीले उक्त लुगा सम्बन्धित कारागार प्रशासनमार्फत हस्तान्तरण गरिएको बताए। यसअघि पनि मुस्लिम समाज बाँकेले कैदीबन्दीका लागि रोजा अफ्तार व्यवस्थापनमा सहयोग पुरयाउने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरेको थियो।

समाजका सचिव तथा प्रवक्ता मेराज अहमद हल्वाई (हिमालय)ले ईदको खुशी सबै वर्ग र समुदायसम्म समान रूपमा पुगोस् भन्ने मान्यताअनुसार उक्त सहयोग गरिएको स्पष्ट पारे।

यसैबीच, नेपालगञ्ज मुस्लिम समाजले सम्पूर्ण देशवासीमा ईदुल फित्रको हार्दिक शुभकामना व्यक्त गरेको छ। नेपालभर शनिबार ईद मनाइनेछ भने नेपालगञ्जस्थित ईदगाहमा बिहान ८ बजे सामूहिक नमाज अदा गरिने नेपालगन्ज जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्