बाँकेमा फाल्गुणमा मात्र ११९ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता – Buletnews
बाँकेमा फाल्गुणमा मात्र ११९ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता

फाल्गुणमा अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायमा ३२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन

  • बुलेट न्युज

बाँके : बाँकेमा एक महिनाको समयावधिमा ११९ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

गत फागुन महिनामा उक्त सङ्ख्यामा मुद्दा दर्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार ११९ मध्ये पाँचवटा जघन्य, ३१ वटा गम्भीर अपराध र ८३ वटा सामान्य अपराधका मुद्दा रहेका छन् ।

त्यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी आठ वटा मुद्दा दर्ता भएकामा सङ्लग्न १० जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ । गत महिनामा जिल्लामा आर्थिक अपराधका घटना २० वटा दर्ता भएका छन् । चालु मुद्दाका ८८ जना प्रतिवादीलाई पक्राउ गरिएको छ ।

सार्वजनिक चासो रहेका पेन्डिङ मुद्दामध्ये १७ वटा सफल अनुसन्धान गरिएको प्रनाउ पातलीले बताए । फैसला कार्यान्वयनतर्फ सात वर्ष चार महिना १६ दिन कैद सजाय तोकिएका तथा १४ लाख ४३ हजार ९७६ रुपियाँ बिगो रकम तथा क्षतिपूर्ति असुलउपर गर्नुपर्ने २७ जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।

उनका अनुसार फागुन महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ७७ वटा उजुरी परेकामा ४२ वटा फछर््यौट भएका छन् भने ३५ वटा बाँकी रहेका छन् ।

फागुनमा ३२ जना महिला, १६ जना बालिका तथा पाँच बालक हराएका उजुरीमध्ये १२ जना महिला, नौ जना बालिका तथा तीन जना बालकलाई खोजतलास गरी फेला पारिएको पनि उनले जानकारी दिए ।

घरेलु हिंसाका (झैझगडा) ५५ वटा उजुरी परेकामा ३० वटा उजुरी मिलापत्र गराइएको तथा अदालत पठाइएको प्रहरीको भनाइ छ । प्रत्यक्ष रुपमा प्रहरी कार्यालयमा ३४८ वटा ठाडो उजुरी परेकामा २०३ वटा फर्छयौट भएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका १७ उजुरीमध्ये चार वटा फछ्र्यौट भएका छन् ।

लागूऔषध ब्राउनसुगर छ ग्राम ५४० मिलिग्राम, नाइट्रजेपाम ४९ ट्याब्लेट बरामद गरिएको र संलग्न १९ जनालाई पक्राउ गरि कानुनी कारबाही गरिएको छ । २०८० चैत १७ गते नेपालगन्ज २१ गंगारामपुर्वाबाट सम्पर्कविहीन भएका मोहम्मद अरबी खाँको हत्यामा आरोपित नेपालगन्ज २१ विर्तागाउँका अफजल पठानलाई गत फागुन ५ गते पक्राउ गरि अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायमा ३२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र उक्त कार्यक्रमबाट ३२० जना महिला र ५९० जना पुरुष लाभान्वित भएका प्रहरीले जनाएको छ ।

उक्त अवधिमा अवैध पशुपन्छी चोरी पैठारी नियन्त्रण, अवैध वनपैदावार चोरी पैठारी नियन्त्रणतर्फ उपलब्धिमूलक कार्य गरिएको छ ।फागुनमा ३३ वटा सवारीसाधन दुर्घटना भएका थिए । जसमा ४८ वटा सवारीसाधन संलग्न रहेका थिए ।

उक्त घटनामा परि चार जनाको मृत्यु भएको र ४६ जना घाइते बनेका प्रहरीले जनाएको छ । त्यसैगरी विभिन्न १६ सय ४१ वटा सवारीसाधनलाई कारबाही गरि १३ लाख ८२ हजार ५०० रुपियाँ राजस्व समेत संकलन गरिएको छ ।

त्यसैगरी अवैध भन्सार छली गरि नेपाल ल्याइएका नौ लाख ५७ हजार ९८० रुपियाँ बराबरका विभिन्न मालसामान बरामद गरिएको र उक्त कार्यमा संलग्न ६ जना व्यक्तिलाई पक्राउ गरि आवश्यक कारबाही गरिएको पनि प्रहरीले जनाएको छ ।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण, विपद् व्यवस्थापन, अवैध मदिरा नियन्त्रण लगायतका कार्यहरुका साथसाथै विद्यालय तथा समुदायस्तरमा विभिन्न सचेतना तथा जनचेतनामूलक कार्यहरु पनि प्रहरीले नियमित गर्दै आएको प्रवक्ता पातलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्