बाँकेमा नौ करोड रुपैयाँ बराबरका काँचो इँटा नष्ट – Buletnews
बाँकेमा नौ करोड रुपैयाँ बराबरका काँचो इँटा नष्ट

२४ घण्टाको वर्षाका कारण प्रत्येक इँटा उद्योगले रु ३ लाखदेखि ७ लाखसम्म क्षति व्यहोरेको अनुमान

  • बुलेट न्युज

बाँके : गत दुई दिन परेको बेमौसमी वर्षाका कारण बाँके जिल्लामा करिब नौ करोड रुपैयाँ बराबरका काँचो इँटा नष्ट भएका छन्।

जिल्लाका इँटा व्यवसायीका अनुसार पकाउनका लागि तयारी अवस्थामा राखिएका ठूलो परिमाणका काँचो इँटा गलेर नष्ट हुँदा करिब रु ८ करोड ७५ लाख बराबरको आर्थिक क्षति भएको हो। खुला चौरमा सुकाउन राखिएका अधिकांश काँचो इँटा वर्षासँगै बगेर माटोमा परिणत भएका छन्।

इँटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा पिबीसी इँटा उद्योगका सञ्चालक दिपक अधिकारीका अनुसार जिल्लाभर रहेका करिब ७० वटा इँटा उद्योगमा झण्डै तीन करोड ५० लाख काँचो इँटा नष्ट भएका छन्। एउटा काँचो इँटाको मूल्य करिब रु २.५० पर्ने उनले बताए। बेमौसमी वर्षाले एउटा उद्योगमा मात्रै करिब पाँच लाख काँचो इँटा नष्ट भएको उनको भनाइ छ।

२४ घण्टाको वर्षाका कारण प्रत्येक इँटा उद्योगले रु ३ लाखदेखि ७ लाखसम्म क्षति व्यहोरेको अनुमान गरिएको छ। चाँद इँटा उद्योगका सञ्चालक चाँद खाँले यसले इँटा उत्पादन घट्ने र बजारमा मूल्य वृद्धि हुने सम्भावना रहेको बताए। उनका अनुसार सिजनको सुरुमै करिब रु ४ करोड बराबरका इँटा नष्ट भइसकेकाले अब उत्पादन सामान्य नहुँदासम्म अभाव कायमै रहने देखिएको छ।

इँटा उत्पादकहरूले सामान्यतया एक सिजनमा सात चरणसम्म उत्पादन गर्ने गर्छन्। एक चरणमा ६ लाखदेखि १० लाखसम्म इँटा तयार गरिन्छ। ……यसपटक सिजनको सुरुमै दोस्रो चरणमै क्षति भएको छ,ÚÚ खाँले भने।

कर्णाली क्षेत्रमा हिमपात भएसँगै परेको वर्षाले बाँकेका इँटा व्यवसायीलाई ठूलो क्षति व्यहोर्नु परेको उनीहरूको भनाइ छ। इँटा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाका कारण उद्योगीहरूले ठूलो नोक्सानी भोग्दै आएको बताए। उनले काँचो इँटाको बिमा व्यवस्था नहुँदा तथा क्षतिपूर्ति नपाउँदा व्यवसायी थप मारमा परेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्