पुलिसलाई आर्मिको बदला – Buletnews
पुलिसलाई आर्मिको बदला
  • बुलेट न्युज

काठमाडौं :   त्रिभुवन आर्मी क्लबले जय ट्रफी मेन्स इलिट कपको फाइनलमा नेपाल पुलिस क्लबसँग पाएको पराजयको बदला लिएको छ। बिहीबार मात्र पुलिसले तीनदिवसीयको फाइनलमा आर्मीलाई ४ विकेटले पराजित गरी उपाधि रक्षा गरेको थियो।

तर बसिर अहमदले शतक बनाएपछि आर्मीले आइतबार प्रधानमन्त्री पीएमकप पुरुष राष्ट्रिय प्रतियोगितामा पुलिसलाई २२ रनले पराजित गर्‍यो।

गत वर्ष भैरहवामा आर्मीलाई नै ६ विकेटले पराजित गरी पुलिसले पीएम कप जितेको थियो। सो खेलमा बसिरले अविजित ८६ रन बनाए पनि आर्मी ४३ ओभरमा १ सय ५४ रनमा अलआउट भएको थियो।

उनै बसिरले १ सय रन बनाएपछि आर्मीले मूलपानीको तल्लो मैदान भिजेका कारण ४७ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाई २ सय ४३ रन बनाएको थियो।

उनले यो इनिङ्स त्यस्तो बेलामा खेले, जतिबेले आर्मीले १७ ओभरभित्र ५८ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। एक महिनाअघि मात्र जय ट्रफीमा नेपाल एपीएफ क्लबविरुद्ध पनि अविजित १ सय ५ रन बनाएका बसिरले यस पटक ८६ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे।

पहिलो चार ब्याटर इमरान शेख समान १० तथा कुशल मल्ल ७ रनमै आउट भएको अवस्थामा बसिर र अनुभवी भीम सार्कीले पाँचौँ विकेटमा ८२ रनको साझेदारी गरे। भीमले ६५ बल खेल्दै ६ चौका र २ छक्कासहित ६२ रन बनाए। कप्तान विनोद भण्डारी ५, पवन कार्की शून्यमा आउट भए। नरेन साउद २२ बल खेल्दै १ छक्का प्रहार गर्दै २१ रनमा अविजित रहे।

पुलिसका श्रवण यादवले ३ विकेट लिए। उनले ६ ओभरमा ३४ रन खर्चेका थिए। सागर ढकालले ९ ओभरमा ३ मेडन राख्दै ३४ र रसिद खानले ९ ओभरमा ६५ रन खर्चेर २(२ तथा ललित राजवंशीले १० ओभरमा ३९ रन खर्चेर १ विकेट लिए।

चोटका कारण आफ्ना प्रमुख ब्याटर कुशल भुर्तेलविना खेलेको पुलिस ४५ दशलमव ३ ओभरमा २ सय २१ रनमा अलआउट भयो।

दिनेश खरेल इनिङ्सको पहिलो बलमा र अमित श्रेष्ठ ५ रनमा आउट भएपछि दबाबमा रहेको पुलिसबाट शंकर रानाले ४७, रसिद खानले ६० र कप्तान आरिफ शेखले ३८ रन बनाए। शंकरले ६६ बल खेल्दै ५ चौका र १ छक्का, रसिदले ८३ बल खेल्दै ४ चौका र ३ छक्का तथा आरिफले ४३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे।

दिलसाद अली ७, गुलशन झा १०, करण केसी १५ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरी २१, श्रवण १५ तथा ललित शून्यमा आउट भए। आर्मीका नरेन साउदले ३ विकेट लिए। उनले १० ओभरमा ५३ रन खर्चे। साउदले ७ ओभरमा ३८ रन खर्चेर २, कुशल, शाहब आलम, पवन र प्लेयर अफ द म्याच बसिरले १(१ विकेट लिए।

एपीएफ विजयी

आसिफ शेखको १ सय १४ रनमा एपीएफले माथिल्लो मूलपानीमा बागमती प्रदेशलाई ३१ रनले पराजित गर्‍यो। टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ७१ रन बनायो। प्लेयर अफ द म्याच आसिफले १ सय ५ बल खेल्दै १४ चौका र २ छक्का प्रहार गरे।

दीपक बोहरा ३ र कप्तान रोहित पौडेल ९ रनमै आउट भएपछि आसिफ र सन्दीप जोराले तेस्रो विकेटमा १ सय ३ रनको साझेदारी गरे। जोराले ५३ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाए। सुमित महर्जन १८, अमरसिंह रौटेला १ रनमा आउट भए। लोकेश बम र युवराज खत्रीले सातौँ विकेटमा जोडेको ५२ रन एपीएफका लागि अर्को निर्णायक साझेदारी बन्यो। लोकेशले २५ बल खेल्दै समान १ चौका र छक्कासहित २१ रन बनाए।

युवराज ३९ बल खेल्दै २ चौका प्रहार गरी २६ रनमा अविजित रहे। नन्दन यादव ५ रनमा अविजित रहे भने कमलसिंह ऐरी ३ रनमा अविजित रहे। बागमतीबाट रिजन ढकालले ४ विकेट लिए। उनले १० ओभरमा ४४ रन खर्चे। इसान पाण्डेले ६ ओभरमा ३६ रन खर्चेर २ तथा कप्तान सन्दीप लामिछाने र सोनु देवकोटाले १(१ विकेट लिए।

जवाफमा आएको बागमती ४५।१ ओभरमा २ सय ४० रनमा अलआउट भयो। अन्तिम जोडी रिजन र सुवास खत्रीले ५३ रनको साझेदारी गरेपछि बागमतीको स्कोर हेर्न लायक बनेको थियो। १० औँ नम्बरमा ब्याटिङ गरेका सुवास ५४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरी २७ रनमा आउट भए भने रिजन २७ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरी २० रनमा अविजित रहे।

बागमतीका माथिल्लो क्रमका ब्याटरले निकै निराशाजनक प्रदर्शन गरेका थिए। आशुतोष घिरैया १, शुभ कंसाकार ८, शिवम् तिवारी १५, इसान १३ रनमा आउट भए। उत्तम थापामगरले ५३ बल खेल्दै १ चौकासहित २६ र विवेक रानामगरले ६४ बल खेल्दै २ चौका र १ छक्कासहित ३६ रन बनाए। सोनु ७, प्रतीश जीसी ६, सन्दीप शून्यमा आउट भए। एपीएफका रोहित र अभिषेक गौतमले ३(३ विकेट लिए। रोहितले १० ओभरमा २ मेडन राख्दै २२ र अभिषेकले १० ओभरमा २ मेडन राख्दै ४३ रन खर्चे। कमल, नन्दन, युवराज र अमरले १(१ विकेट लिए।

प्रतियोगिता शनिबार मधेस प्रदेशको जनकपुर र वीरगन्जबाट सुरु भएको थियो। पहिलो दिनको दुवै खेल वर्षाले रद्द भएको थियो।

सोमबार जनकपुरमा कोशी र लुम्बिनी प्रदेशका बीच तथा वीरगन्जमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ। काठमाडौँमा मंगलबार खेल हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्