बाँके : पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्वगृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको एमाले बाँकेले जिकिर गरेको छ । दुबै नेतालाई ‘निःर्शत’ रिहा गर्न एमाले बाँकेले माग पनि गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत आइतबार बिरोधपत्र बुझाउँदै एमाले बाँकेले यस्तो माग गरेको हो । सरकारले राजनीतिक ‘प्रतिशोध’ राखेर पुर्वप्रधामन्त्री ओली र पुर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको एमाले बाँकेको ठहर छ । जिल्ला अध्यक्ष निरक गुरुङले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई बुझाएको बिरोध पत्रमा कार्की आयोगले प्रतिशोध राखेर प्रतिवेदन तयार गरेको उल्लेख छ । प्रतिवेदनमा भदौं २३ गतेको विध्वंसमा संलग्नलाई कारबाही गर्ने विषयमा नबोलेको एमालेको आरोप छ ।
भदौं २४ गतेको घटनामा संलग्न व्यक्तीहरु नै अहिले राज्यका उच्च पदमा पुगेको अवस्थामा कानुनी राज्यको उपहास भएको विरोध पत्रमा उल्लेख छ । विरोधपत्र बुझाउनुअघि एमाले बाँकेको कार्यालय पासाङल्हामु मार्गबाट बिरोध र्याली निकालिएको थियो । उक्त र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो ।











