बालकलाई ठक्कर दिने इभि हाईस नियन्त्रणमा, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध – Buletnews
बालकलाई ठक्कर दिने इभि हाईस नियन्त्रणमा, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

कम्दीबाट गाडी पक्राउ, घटनापछि क्षेत्र तनावग्रस्त

  • बुलेट न्युज

बाँके: राप्तीसोनारी गाउँपालिका वडा नं. ६ डाँडाटेपरीमा शुक्रबार एक दर्दनाक सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ।
दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ज १५०५ नम्बरको ईभी हाईसले बाटोमा हिँडिरहेका अन्दाजी ४/५ वर्षका सुगन रानालाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। घाइते बालकलाई तत्काल उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएकोमा दिउँसो १२:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

उक्त सवारी चालक दाङ जिल्ला लमही नगरपालिका वडा नं. ५ निवासी ३२ वर्षीय अजय केसी रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार हुने क्रममा रहेको हाईसलाई डुडुवा गाउँपालिका अन्तर्गत कम्दी क्षेत्रमा प्रहरी सहायक निरीक्षक प्रेम बिकको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ।

घटनापछि आक्रोशित स्थानीयले हुलाकी सडकमा ढुंगा–मुढा राखेर सडक अवरुद्ध गरेका छन्। घटनास्थलमा तनावपूर्ण अवस्था रहेको र स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्