बाँके: राप्ती सोनारी गाउँपालिका–५ चिलहरियास्थित रङ्गशाला खेलमैदानमा दोस्रो राप्ती सोनारी कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। आगामी चैत २७ गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सव यस वर्ष पनि भव्य रूपमा गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
महोत्सवको आयोजना श्री न्यू सिर्जना युवा स्पोर्ट क्लबले गर्दै आएको छ। विगतका वर्षहरूझैँ यस वर्ष पनि विविध कार्यक्रमसहित महोत्सवलाई आकर्षक बनाइने तयारी भइरहेको बताइएको छ।
महोत्सव व्यवस्थापन समितिका अध्यक्ष जमान सिंह खत्रीका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। साथै, स्थानीय कला–संस्कृतिको संरक्षण तथा सम्बर्द्धन, धार्मिक पर्यटनको विकास र व्यापार–व्यवसायको प्रवर्द्धन मुख्य उद्देश्यका रूपमा राखिएको छ।
स्थानीय उत्पादन, हस्तकला, कृषि उपज तथा विभिन्न व्यापारिक स्टलहरू समेटिने महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ।











