प्युठान : प्युठानको ऐरावती गाउँपालिकामा वडा नम्बर एकमा भएको आगलागीमा ६ वटा गोठ जलेर पूर्ण रुपमा नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। १३ घर परिवारको नगद, लत्ताकपडा तथा पशुचौपायमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। ऐरावती गाउँपालिका वडा नम्बर १ छेडाघाटका लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट सल्किएको आगो बस्तीमा फैलिएको थियो।
जिल्ला प्रहरी कार्यालय प्युठान, इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङलगायतबाट खटिएको प्रहरी, नेपाली सेना तथा स्थानीयको सक्रियतामा आज बिहान ७ बजे आगो नियन्त्रण लिइएको छ। आगलागीबाट देवान सिंह राना, विकास राना, लक्ष्म राना, ईश्वरी राना, रमेश घर्ती र ओमबहादुर रेश्मी मगरका गोठ जलेर नष्ट भएका छन्।
यस्तै ठूलो संख्यामा पशु चौपाय मरेका छन् भने केही नगद र लत्ताकपडा तथा भाँडाकुडा जलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट ९३ लाख ५० हजारभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान छ।











