बाँके: बाँकेको नेपालगञ्जमा युवतीको जली मृत्यु प्रकरणमा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँके का अनुसार नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १२ कोरियनपुर क्षेत्रमा भएको घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो।
गत चैत १४ गते राति करिब ११:३५ बजे २२ वर्षीया सृजना बुढा मगर आफ्नै घर नजिक सडकमा जलेर मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि मृतकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।

प्रारम्भिक अनुसन्धानमा मुख्य अभियुक्त मो. आरिफ धपालीको संलग्नता देखिएपछि उनकी आमा र दिदीलाई यसअघि नै नियन्त्रणमा लिइएको थियो। घटनापछि फरार रहेका उनका बुबा र भाइलाई पनि प्रहरीले विशेष टोली खटाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा ५० वर्षीय रहमत धपाली र २१ वर्षीय मो. आदिल धपाली रहेका छन्। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
घटनाले नेपालगञ्ज क्षेत्रमा त्रास र चासो दुवै बढाएको छ भने स्थानीयले सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन्। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारबाही हुने जनाएको छ।











