बाँके, राप्ती सोनारी: राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा अवस्थित श्री जनता माध्यमिक विद्यालयले माध्यमिक तह (कक्षा ९–१०) का लागि विज्ञान विषयको शिक्षक पदपूर्ति गर्न आवेदन खुलाएको छ। विद्यालय व्यवस्थापन समितिको २०८३ साल वैशाख ४ गतेको बैठकको निर्णयअनुसार संघीय शिक्षण–सिकाइ अनुदान अन्तर्गत करार शिक्षक नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
विद्यालयका प्रधानाध्यापक भद्र बहादुर ओलीका अनुसार योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ । बी.एस्सी वा सो सरह शैक्षिक योग्यता भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्। लिखित परीक्षा र अन्तर्वार्ताबाट छनोट गरिने व्यवस्था गरिएको छ भने दरखास्त दिने अन्तिम मिति २०८३ वैशाख १९ गते अपराह्न ४ बजेसम्म तोकिएको छ।

तर, शिक्षक अभाव मात्र नभई विद्यालयको समग्र अवस्था चुनौतीपूर्ण रहेको देखिन्छ। स्थानीयका अनुसार उक्त विद्यालय पछिल्लो समय अत्यन्तै पिछडिएको अवस्थामा पुगेको छ। आवश्यक जनशक्ति अभावका कारण पठनपाठन प्रभावित हुँदै आएको छ भने धेरै शिक्षक–शिक्षिकाहरू दुर्गम अवस्थाका कारण यहाँ पढाउन आउन इच्छुक देखिँदैनन्।
यसैबीच, स्थानीय सरकार तथा सम्बन्धित निकायको ध्यान समेत विद्यालयतर्फ पर्याप्त रूपमा नपुगेको गुनासो उठ्दै आएको छ। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत राजनीतिक दल र सरोकारवाला निकायको चासो न्यून देखिनु चिन्ताको विषय बनेको छ।
स्थानीय अभिभावकहरू भने गुणस्तरीय शिक्षाका लागि स्थायी समाधान खोज्न र शिक्षक व्यवस्थापनमा दीर्घकालीन योजना ल्याउन माग गरिरहेका छन्।











