बाँके: राप्ती सोनारी–८ मा लागूऔषध दुरुपयोग र चोरी–तस्करीका घटना बढ्दै गएको भन्दै स्थानीय युवाहरूले यसको नियन्त्रणका लागि सशक्त पहल थालेका छन्।
श्री शमशेरगञ्ज युवा क्लबको अगुवाइमा युवाहरूले जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै यस्ता आपराधिक गतिविधि न्यूनीकरण गर्न माग गरेका हुन्। क्लबका अध्यक्ष दीपक रावतका अनुसार समाजमा लागूऔषधको प्रयोग, अवैध कारोबार तथा चोरी–तस्करी जस्ता विकृतिहरू तीव्र रूपमा फैलिँदै गएका छन्, जसले व्यक्तिको जीवन मात्र नभई समग्र समाजको शान्ति र सुरक्षामा गम्भीर असर पारिरहेको छ।
उनले समुदायका आमाबुवा, दाजुभाइ तथा बालबालिकालाई सचेत रहन आग्रह गर्दै कुलतमा फसेका युवायुवतीलाई सुधार्न सामूहिक प्रयास आवश्यक रहेको बताए। “समाजलाई सही दिशामा लैजान युवाहरूको सक्रियता अपरिहार्य छ,” उनले भने। युवाहरूले लागूऔषधको आपूर्ति नियन्त्रण गर्न र बाहिरी क्षेत्रबाट हुने चोरी–तस्करी रोक्न प्रशासनसँग प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
उनीहरूको यो पहललाई स्थानीयस्तरमा अनुकरणीय कार्यका रूपमा हेरिएको छ। शमशेरगञ्ज युवा क्लबको नेतृत्वमा सुरु गरिएको यस अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक विकृति नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।











