बाँके:बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पतालमा भएको तनाव साम्य भएको छैन । अस्पताल प्रशासनले आज प्रेस नोट जारी गर्दै उपचार प्रक्रियामा कुनै लापरबाही नभएको दाबी गरेको छ भने मृतकका आफन्त तथा केही व्यक्तिबाट चिकित्सकमाथि दुर्व्यवहार भएको जनाएको छ।
अस्पतालका अनुसार बैजनाथ गाउँपालिका–८ निवासी ६१ वर्षीय एक पुरुष बिरामी पेट तथा छातीसम्बन्धी समस्या लिएर वैशाख ६ गते भर्ना भएका थिए। उनलाई हाइपोथ्योरिडजम, हाइपरटेन्सन तथा टाइप टु डाइबटिस जस्ता दीर्घरोगसमेत रहेको र सोहीअनुसार विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
तर वैशाख १३ गते अचानक बिरामीको अवस्था गम्भीर बन्दै गएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ। घटनापछि सोही दिन अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भएको थियो। साथै वैशाख १४ गते अस्पताल प्रमुख, विभिन्न विभागीय प्रमुख, प्रतिनिधिसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा पुनः छलफल गरिएको जनाइएको छ।
उक्त छलफलमा उपचारका सीमितता र जटिलताबारे जानकारी गराइएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले उपचारमा लापरबाही भएको आरोप अस्वीकार गर्दै आवश्यक परे सम्बन्धित निकायबाट छानबिन गर्न सकिने स्पष्ट पारेको छ।
यद्यपि वैशाख १५ गते बिहान करिब १०ः३० बजे मृतकका आफन्तसहित केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, ज्यान मार्ने धम्की तथा हातपातको प्रयास गरेको आरोप अस्पतालले लगाएको छ। प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमाथि पनि आक्रमणको प्रयास भएको जनाइएको छ।
अस्पतालले यस घटनाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको र सेवा प्रवाह प्रभावित हुन सक्ने चेतावनी दिएको छ। साथै दोषीलाई कारबाही गर्न ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार प्रक्रिया अघि बढाइएको जनाएको छ। अस्पताल प्रशासनले बिरामीको जीवन रक्षा आफ्नो प्रमुख उद्देश्य भएको उल्लेख गर्दै यस्ता घटनाले चिकित्सक–बिरामी सम्बन्धमा नकारात्मक असर पार्ने भन्दै संयमित व्यवहार गर्न आग्रह गरेको छ।











