रोल्पा: रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए।
उनका अनुसार रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन्।
उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट रहेको तथा अवस्था मध्यम रहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए।
उनीहरू रुकुम पूर्वबाट वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी जलजला गएका थिए। प्रहरीका अनुसार, बोलेरो सडकबाट करिब आठ सय मिटर तल खसेको हो।
दुर्घटना लगत्तै प्रहरी टोली परिचालन गरिएको छ। उद्धार कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ।
नेटवर्कको समस्याका कारणले घटनाको विषयमा धेरै जानकारी आइनसकेको उनले बताए। प्रहरी टोलीसँग निरन्तर सम्पर्क गर्ने प्रयास भइरहेको उनको भनाइ छ।











