होटेलमा सुकुम्बासीले भने कैदी जस्तो जिन्दगी जिउँदैछौं, बच्चाले रुन समेत पाएन – Buletnews
मुर्दावाद भन्दै सडकमा आउने वातावरण नआओस
होटेलमा सुकुम्बासीले भने कैदी जस्तो जिन्दगी जिउँदैछौं, बच्चाले रुन समेत पाएन

सरकार कति निर्दयी रहेछ, होटलको कोठाभित्र यसरी राख्नुभन्दा बरु जेलमै लगेर राखे हुने

  • सीता न्यौपाने

काठमाडौँ:  सबिना मल्ल विगत २० वर्षदेखि राजधानीको थापाथलीस्थित सुकुम्वासी बस्तीमा बस्दै आएकी थिइन् । सरकारले डोजर चलाएर विस्थापित पारेपछि उनी होटेलमा कैदीजसरी बसिरहेकी छिन् ।

उनी र उनको परिवार यतिबेला बालाजुमा सरकारले व्यवस्था गरेको होटलमा बस्दै आएको छ । तर, आफूहरुको होटल बसाई कैदीभन्दा फरक नरहेको उनको भनाइ छ । ६ जनाको परिवारले जम्मा एउटा कोठामा निर्वाह गर्नुपर्दा सकस भएको उनले बताइन् ।

‘हामी दुई बुढाबुढी छौँ । दुई छोरीमध्ये एउटी २५ र अर्को १८ वर्षका छन् । २० वर्षको छोरो छ । बिहे भएकी जेठी छोरीको बच्चो छ,’ उनले भनिन्, ‘हामी सबै एकै कोठामा बसेका छौँ । हुर्केबढेका छोराछोरीले एकै खाटमा सुत्नुपरेको छ । यो देख्दा मुटु खन्छ । एकदुई रात पो गुजारा हुन्छ, हामीले अझै कति यसरी बस्नुपर्ने होला ?’

रौतहटमा जन्मिएकी सबिना काम खोज्दै काठमाडौं आएकी थिइन् । किशोरी छँदा उनी गलैँचा कारखानामा काम गर्थिन् । काम गर्दैगर्दा उनले त्यहीँका कामदारसँग बिहे गरिन् । श्रीमानले मकवानपुरमा घर भएको बताएका थिए । तर, नागरिकता मकवानपुरबाट बनाएको भएपनि जिल्लामा श्रीमानसँग कुनै सम्पत्ति वा जग्गा जमिन भने थिएन ।

सम्पत्तिको नाममा जिल्लाबाट जारी नागरिकता मात्रै थियो । जीविकोपार्जनका लागि रोजगारीबाहेक अरु विकल्प थिएन ।

त्यसको लागि काठमाडौं नै उत्तम थियो । सुरुमा कोठा भाँडामा बसेका उनीहरुले पछि थापाथली सुकुम्वासी बस्तीमा एक टुक्रा जमिन पाए । त्यहाँ बसेको २० वर्षमा दुई छोरी र एक छोरा जन्मिए ।

सुखदुख गरेर हुर्किएका छोराछोरीलाई आज एउटै ओछ्यानमा सुताउनुपर्दा आमाको मन फाटेको छ । सानो नातीले खेल्ने ठाउँ पनि पाएको छैन । होटलको बसाइ जेलभन्दा खराब रहेको सबिना बताउँछिन् ।

‘न उमेर पुगेका न बच्चा कसैलाई पनि मिलाउन सकेको छैन । ठूला केटाकेटीले कुरा बुझ्छन्, चुप लाग्छन् । तर बच्चोलाई कसले बुझाइदिने ? खेल्ने ठाउँ नपाउँदा आत्तिएर रुन्छ ।’ उनले भनिन् ।

निर्दोष बच्चाले होटेलको कोठामा मन खोलेर रुन पनि नपाएको उनको भनाइ छ । ‘बच्चा रुँदा डिस्टर्ब भयो भनेर अर्को कोठाकाले गुनासो गरेका छन् । सरकार कति निर्दयी रहेछ, होटलको कोठाभित्र यसरी राख्नुभन्दा बरु जेलमै लगेर राखे हुन्छ ।’

त्यसैगरी सबिनाले होटलको खानामा पनि हेलचेक्र्याईँ हुने गरेको बताइन् । ‘सुरुको दिनमा राम्रै खाना दिएका थिए । पाँच दिनसम्म सरकारले राम्रै गर्‍यो भन्ने लागेको थियो । हामीले घरमा खाने भन्दा राम्रो खाना दिएका थिए । तर अहिले खानामा हेलचेक्र्याईँ गरिएको छ । कतिसम्म भने पिठो घोलेको दाल खुवाएका छन् । बासी खुवाएका छन् । होटलवालाले समेत हामीलाई मान्छे गनेनन्,’ उनले भनिन् ।

उनले आफ्ना बच्चाले पढ्न नपाएको दुखेसो पनि गरिन् । ‘सबैका छोराछोरी स्कुल गएका छन् । हाम्रा छोराछोरीले पढ्नु पर्दैन ? उनी सरकारसँग सोध्छिन्, ‘सुकुम्वासीका छोराछोरीले पढ्नु पर्दैन ? किताबकापी खै ? ड्रेस खै, स्कुल खै ? घरबारविहीन केटाकेटीको मनस्थिति कस्तो छ ? उनीहरुले कसरी पढ्छन् ? यी कुराको व्यवस्थाबिना किन हाम्रा टहरामा डोजर चलाइयो ?’

आफ्नो टहरो भत्किएको दिन सबिनालाई त्यति दुख लागेको थिएन । बालेन सरकारले राम्रै व्यवस्थापन गर्ला भन्ने उनलाई लागेको थियो । तर दिन बित्दै जाँदा सरकारले आफूहरुलाई बेवास्ता गरेको उनको अनुभव छ ।

उनले भनिन्, ‘खोलाको छेउ बर्खामा सधैँ डराएर बस्नुपर्ने बाध्यता थियो । प्रधानमन्त्रीले पनि बाढीबाट जोगाउन खोजिएको बताउनुभएको थियो । तर यत्तिका दिन हाम्रो व्यवस्थापनको लागि केही भएको छैन ।’

‘होटलको कोठामा परिवारको जिविको कति दिन चल्छ ?’ उनले भनिन्, ‘होटलमा एकदुई रात पो बस्न सकिन्छ । दिन बित्दै जाँदा पट्यार लाग्ने र निस्सासिने हुँदो रहेछ ।’

बस्तीमाथि सजिलै डोजर चलाउन सरकारले ललिपप देखाएपनि व्यवस्थापनको नाममा केही नगरेको उनको भनाइ थियो । ‘पहिलेका सरकारले पनि सुकुम्वासी बस्ती खाली गर्ने भनेको हो । तर हामी एकजुट भएर खाली गर्न दिएनौँ । जर्बजस्ती हटाउन सकेन । तर नयाँ सरकारले हामीलाई ललिपप देखायो, सपना बाँड्यो । हामी सजिलै टहरा छोडेर हिँड्यौँ । तर हाम्रो व्यवस्थापनमा सरकारले यत्तिका दिनसम्म एउटा सिन्को ढालेन ।’

सरकारप्रतिको अविश्वास र होटलमा बस्न नसकेपछि उनी शहरमा कोठा खोज्न हिँड्न थालेकी छिन् । कोठा खोज्न उनको पूरै परिवार नै लागेको छ । तर परिवार ठूलो भएको भनेर कसैले भाडामा दिएका छैनन् ।

उनले भनिन्, ‘सरकारले यसरी राख्छ भन्ने थाहा पाएको भए कस्सम छाती थाप्थेँ, तर टहरामा डोजर चलाउन दिन्नथेँ ।’

थातथलो नै उठिबास लगाएर सरकारले सुकुम्बासीप्रति अन्याय गरेको उनले बताइन् । ‘सरकारले हामीभित्र आक्रोश उब्जिन नदियोस् । अन्तिमसम्म पनि बालेनले गर्छ भन्नेमा छौँ । अरु सरकार भएको भए हामी बस्ती छोड्दैनथ्यौँ । उसैको मुख हेरेर छोडेका हौँ । उसैलाई भोट हाल्यौँ । अब उसैलाई मुर्दावाद भन्दै सडकमा आउने वातावरण नआओस्,’ सबिनाले चेतावनी दिइन् ।

प्रतिक्रिया दिनुहोस्