कोहलपुर नबिसको जग्गा ओगटेका वास्तविक सुकुमवासीको पहिचान हुँदै, हाल सम्म ६० घरधुरी मात्र वास्तविक सुकुमवासी – Buletnews
क्लिन हुँदै शान्तीनगर बस्ती
कोहलपुर नबिसको जग्गा ओगटेका वास्तविक सुकुमवासीको पहिचान हुँदै, हाल सम्म ६० घरधुरी मात्र वास्तविक सुकुमवासी

सबै लाखापाखा लागेपछी शान्तीनगरमा डोजर चल्यो, बाँकी खण्डहर भएका घरटहरा धुल्याईँदै

  • बुलेट न्युज

कोहलपुर ,बाँके: बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर नगर क्षेत्रमा वर्षौँदेखि सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरि बसोबास गर्दै आएका वास्तविक सुकुम्बासी तथा भूमिहीन दलितको पहिचान प्रक्रिया शुरु गरेको छ ।

कोहलपुर नगरपालिकाले कोहलपुर नगर विकास समितिको जग्गामा अतिक्रमण गरेर बसेका वास्तविक भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारको तथ्याङ्क सङ्कलन तथा कागजात प्रमाणीकरणको काम अघि बढाएको हो ।

नगरपालिकाले पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण बढ्दै जाँदा वास्तविक सुकुम्बासी, भूमिहीन दलितको पहिचान गरेर व्यवस्थापन गर्न थालेको जनाएको छ ।

नगरपालिकाले समिति गठन गरेर घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक अवस्था, अन्यत्र जग्गाजमिन भए नभएको लगायतका विषय अध्ययन गरिरहेको अभिलेख व्यवस्थापन समिति संयोजक सुनिता सुनारले बताइन् ।

उनका अनुसार वर्षौँदेखि बसोबास गर्दै आएका वास्तविक भूमिहीन सुकुम्बासी र भूमिहीन दलित नागरिकलाई व्यवस्थापन गर्ने गरेर काम भइरहेको छ ।

विशेषगरी कोहलपुर क्रिकेट मैदान आसपासका क्षेत्रमा बसोबास गर्ने धेरै परिवार भए पनि वास्तविक सुकुम्बासी र भूमिहीन दलितको पहिचान प्रक्रिया तीव्र बनाइएको उनले बताइन् ।

उनका अनुसार केही व्यक्तिले आफूलाई भूमिहीन भन्दै दाबी गरे पनि अन्यत्र घरजग्गा रहेको तथ्य भेटिन थालेको छ । यस्ता व्यक्तिलाई सूचीबाट हटाइने र वास्तविक पीडित परिवारलाई मात्रै प्राथमिकता दिइने जनाइएको छ ।

गत वर्ष उक्त स्थानका ७५१ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलितले फाराम भरे पनि पहिचान गर्दा भूमिहीन दलित १५३ जना र भूमिहीन सुकुम्बासी १४१ जना रहेको सुनारले बताइन् ।

उनले वास्तविक भूमिहीन दलित र भूमिहीन सुकुम्वासीको पहिचान गरेर उचित व्यवस्थापन गरिने उल्लेख गरिन् ।

हालसम्म नगरपालिकाको सम्पर्कमा ६० घर वास्तविक भूमिहीन सुकुम्बासीहरू आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइने प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

शान्तीनगरमा डोजर चल्यो, बाँकी घरटहरा भत्काइँदै
बाँकेको शान्तीनगर क्षेत्रमा बस्ती खाली भएपछि स्थानीय सरकारले बाँकी रहेका घरटहरा भत्काउन डोजर चलाएको छ । नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा तथा संरचना हटाउने अभियान अन्तर्गत कोहलपुर नगरपालिकाले डोजर प्रयोग गरी संरचना भत्काउन थालेको हो ।

यसअघि नगरपालिकाले सूचना जारी गर्दै तोकिएको समयभित्र स्थान खाली गर्न आग्रह गरेको थियो । सोही सूचनाअनुसार अधिकांश परिवारले शान्तिपूर्ण रूपमा स्थान खाली गरेपछि अहिले बाँकी रहेका टहरा हटाउने कार्य भइरहेको जनाइएको छ ।

 

डोजर परिचालनका क्रममा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । स्थानीय सरकारका प्रतिनिधि, प्रहरी तथा सम्बन्धित निकायको उपस्थितिमा संरचना हटाउने काम जारी रहेको छ ।

वर्षौंदेखि बसोबास गर्दै आएका केही स्थानीयले वैकल्पिक व्यवस्थाको माग गर्दै आएका छन् भने नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणका लागि अभियान सञ्चालन गरिएको जनाएको छ ।

तस्बिर: सम्पादक ( संजय मण्डल )

प्रतिक्रिया दिनुहोस्