आज पनि देशका केही भूभागमा वर्षाको सम्भावना – Buletnews
आज पनि देशका केही भूभागमा वर्षाको सम्भावना

राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने

  • बुलेट न्युज

बाँके: आज पनि काठमाण्डौ उपत्यकासहित देशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ । देशका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही जिल्लाहरूमा हावाहुरी, असिना र चट्याङ्गको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्