कोहलपुर,बाँके: नेपाली मौलिक लोक संस्कृति लोकभाका तथा लोकसंगीतको संरक्षण समवर्धन प्रवर्धन तथा नयाँ प्रतिभाको खोजी र प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा बाँकेको आयोजनामा प्रथम बाँके जिल्ला खुल्ला एकल लोकगीत प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाली बहुभाषिक बहुजातीय तथा विविध मौलिक कला संस्कृति परम्परा र लोकभाकाले सम्पन्न राष्ट्र हो भन्दै नेपाली समाजको सभ्यता पहिचान संस्कार तथा सामाजिक जीवनशैलीलाई लोकगीत तथा लोकसंगीतले पुस्तौदेखि जीवन्त रुपमा संरक्षण गर्दै आएको, लोक भाकाले नेपाली जनजीवनका सुख दुःख माया प्रेम सामाजिक चेतना परम्परा तथा संस्कृतिलाई अभिव्यक्त गर्ने महत्त्वपूर्ण माध्यमको रुपमा भूमिका निर्वाह गर्दै आइरहेकोमा पछिल्लो समय आधुनिकता प्रविधिको तीव्र विकास तथा विदेशी सांस्कृतिकको प्रभावका कारण नेपाली मौलिक लोकसंस्कृति ओझेलमा पर्दै जाने अवस्था सिर्जना भएको हुँदा विशेषगरी युवा पुस्तामा लोकभाका तथा लोकगीतप्रतिको आकर्षण घटदै जानु चुनौतीको रूपमा देखिएकाले यही अवस्थालाई मध्यनजर गर्दै लोकसस्कृतिको संरक्षण संम्बर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको शनिवार पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र सिंह ठकुरीले जानकारी दिए।
कार्यक्रम कोहलपुरस्थित न्युरोड खुल्ला मैदानमा भव्य रूपमा सञ्चालन गरिने प्रतियोगिता बाँकेसहित देशका विभिन्न जिल्लाबाट लोकगायक गायिका सर्जक कलाकार तथा सांस्कृतिक कर्मीहरूको सहभागिता रहने र प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई राष्ट्रिय स्तरको साझा मञ्च उपलब्ध गराउनुका साथै उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने ठकुरीको भनाई छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार, द्वितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार, सान्त्वना ५ हजार रहेको उक्त प्रतियोगिता यही जेठ १५ गते बेलुका ४ बजेदेखि राति ११ बजेसम्म हुने ठकुरीले जानकारी दिए।











