निजी क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध – Buletnews
निजी क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध

मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण

  • बुलेट न्युज

बुटवल: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले उद्योगी तथा व्यवसायीलाई उत्साहित बनाउँदै उत्पादन, लगानी र रोजगारी विस्तारमा जोड दिन आवश्यक रहेको औँल्याए। आचार्यले उद्योग व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्याको समाधानका लागि प्रदेश सरकारले आवश्यक समन्वय र पहल गर्दै आएको उल्लेख गरे।

उनले उद्योगी व्यवसायीको मनोबल उच्च बनाउने वातावरण आवश्यक रहेको बताउँदै उत्पादनमूलक क्षेत्रलाई चलायमान बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे । “निजी क्षेत्र सशक्त बने मात्रै आर्थिक गतिविधि विस्तार हुन्छ,” उनले भने, “त्यसले समग्र अर्थतन्त्रलाई सकारात्मक दिशा दिन्छ ।” मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण, स्थानीय उत्पादन प्रवर्धन, उद्यमशीलता विकास तथा बजार सुनिश्चितका लागि विभिन्न कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युवालाई उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने बताए।

“प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक विकासलाई गति दिन प्रतिबद्ध छ,” मुख्यमन्त्री आचार्यले भने, “उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारका लागि सरकार र निजी क्षेत्रबिचको सहकार्य अझ बलियो बनाउनु पर्छ ।”

कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीले प्रदेश सरकारसँग समन्वय र सहकार्य बढाउँदै व्यावसायिक वातावरण सुधार गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्र मुलुकको आर्थिक विकासको प्रमुख आधार भएकाले सरकार र व्यवसायीबिच विश्वासको वातावरण आवश्यक रहेको बताए । उनले उत्पादन, लगानी र रोजगारी विस्तारका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।

महासङ्घका नवनिर्वाचित लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले प्रदेशको औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गर्न महासङ्घ सक्रिय रूपमा लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्