बर्दिया: बर्दिया प्रहरीले बैशाख महिनामा दुई भारतीय सहित ३३ जनालाई लागु औषध सहित पक्राउ गरेको छ ।
वैशाख महिना भरीमा लागु औषध ओसार पसारमा गरेको कडाइका कारण ३३ जना पक्राउ परेका हुन् ।बर्दिया प्रहरीको लागुऔषध ओसार पसार गर्नेहरू माथी गरेको सर्च अपरेसनमा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ३०७ ग्राम २३० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारेका छ । पक्राउ पर्नेमा सबैभन्दा बढी १७ जना बर्दिया जिल्लाका रहेका छन् ।
त्यसैगरी बाँकेका नौ जना, मुगुका र सुर्खेतका दुई÷दुई जना, ललितपुरका एक जना र भातिय दुई जना रहेका छन् ।उनीहरू मध्ये सबै पूरुष रहेका छन् भने दुई जना नाबालक रहेका छन् । पक्राउ पर्नेहरू अधिकतम ४७ वर्ष उमेर सम्मका रहेका छन् ।
पक्राउ पर्नेमा अधिकांश सेवनकर्ता सँगै ओसार पसारमा संलग्न रहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए।
उनले सबैलाई लागुऔषध कारोबार ऐन अन्र्तगत अनुसन्धान भई कारवाहीको प्रक्रियामा अगाडि बढाएको बताउनुभयो ।बर्दियामा विशेषगरी भारतबाट लागु औषध ब्राउनसुगर आउने गदर्छ ।भारतीय सीमावर्ती बजारमा लागु औषध छ्यापछ्याप्ती बिक्री हुने गरेको स्थानीयहरू बताउँछन् ।
प्रहरीले २८० ग्राम लागु औषध सहित भारतको उत्तरप्रदेश खिरी तिकुनिया बस्ने २६ वर्षका विजय सिंह र ३५ वर्षीय तेजेन्द्र कुमार पक्राउ परेका थिए ।प्रहरी निरीक्षक कार्कीका अनुसार वैशाख महिनामा सबै भन्दा बढी मात्रामा फेला परेको लागु औषध यही नै हो ।
चालु आर्थिक वर्षको बैशाख मसान्त सम्म बर्दिया प्रहरीले दुई सय चार जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नौ सय १२ ग्राम आठ सय ९३ मिलिग्राम ब्राउन सुगर बरामद भएको निमित्त सूचना अधिकारी कार्कीले बताए।लागु औषध नियन्त्रणका लागि बर्दिया प्रहरीले अभियान नै चलाएको छ ।
ठाउँ ठाउँमा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेपनि अपेक्षा गरे अनुसार लागुऔषध सहित पक्राउ पर्नेको सङ्ख्यामा कमी नआएको प्रहरीले जनाएको छ ।
खुल्ला सिमानाका कारण नेपालीहरू भारतको लौकाही, बलैबजार जस्ता सीमावर्ती बजारमा गएर लागुऔषध सेवन गरेर आउनेको सङ्ख्या धेरै रहेको गुलरिया नगरपालिका वडा नं ११ का जगदिश यादवले बताए ।
केही समय अगाडि भारतबाट लागु औषध सेवन गरेर आएका एकै घरका दुई जनाको मृत्यु भएको थियो ।











